इटहरी । इटहरी उपमहानगरपालिकाले निर्माण गरेको वस्तीमा मुसहर समुदायले जान अस्वीकार गरेका छन् । दैनिक ज्यालादारी गर्नेका लागि उक्त बस्ती भएको स्थान उपयुक्त नभएको उनीहरुको गुनासो छ ।
तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत दुई वर्ष अघि निर्माण भएको वस्तीमा खानेपानी, शौचालय, चिल्ड्रेन पार्क, सामुदायिक भवन र मन्दिरसहित १५ संरचना रहेका छन् । नगरपालिकाको १७ नम्बर वडामा बस्दै आएका मुसहर समुदायलाई व्यवस्थित बासस्थानका लागि वडा नम्बर १६ मा बस्ती निर्माण गरिएको थियो ।
तर, आफ्नो समुदायसँग छलफल नै नगरी अनुपयुक्त ठाउँमा बस्ती निर्माण गरिएको भन्दै उनीहरुले गुनासो गरेका छन् । मुसहर समुदाय बसोबास गर्दै आएको स्थानमा उपमहानगरपालिकाले सडक निर्माणको योजना बनाएको छ । त्यसका लागि उनीहरुलाई अन्यत्र सार्न लागिएको हो ।
सडक आयोजना अघि बढाउने नाममा उपमहानगरले आफुहरुलाई सार्ने रणनिति लिएको मुसहर समुदायको आरोप छ । वडा नम्बर १७ मै जग्गा खरिद गरिदिए उपयुक्त हुने उनीहरुको माग छ । एक करोड २३ लाखमा निर्माण भएको बस्तीमा १० प्रतिशत इटहरी उपमहानगर र ९० प्रतिशत तराई मधेश समृद्धि कार्यक्रमले रकम खर्चेको हो ।
मुसहर समुदाय जान नमानेपछि नगरका अतिविपन्न तथा लक्षित समुदायका परिवारलाई राख्ने तयारी उपमहानगरपालिकाको छ । उपमहानगरले बस्ती निर्माण गर्नु पूर्व समन्वय नगर्दा मुसहर समुदाय हाल बस्दै आएको अव्यवस्थित आवासमै थन्किने भएका छन् । मुसहर समुदायसँगको विवादले उपमहानगरको बहुबर्षे सडक योजना पनि अन्यौलमा परेको छ ।