एजेन्सी । ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले विद्यावारिधिकी एक विद्यार्थीलाई चौतीस वर्षको जेल सजाय सुनाएको छ।
बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधिको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाएको र असन्तुष्टका विचारलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो । साउदी अदालतको यो निर्णयबाट विश्व समुदाय स्तब्ध भएको छ भने त्यसको विश्वव्यापीरूपमा निन्दा भएको छ ।
वासिङटनस्थित मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका वेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो ।
एसोसिएटेड प्रेसले प्राप्त गरेका कानुनी कागजातले उनको मुद्दा अदालतमा पठाउनुअघि अल–शेहाबले न्यायाधीशहरूलाई २८५ दिनभन्दा बढी एकान्त कारावासमा राखिएको बताएकी थिइन् ।
फ्रिडम इनिसिएटिभले अल–शेहाबलाई साउदी अरबको शिया मुस्लिम अल्पसंख्यकको सदस्यको रूपमा वर्णन गरेको छ, जसले लामो समयदेखि सुन्नी–शासित राज्यमा व्यवस्थितरूपमा भेदभाव गरेको गुनासो गरेको छ । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले अल–शेहाबको मुद्दालाई ‘घोर अनुचित’ र सुनाइएको सजाय ‘क्रूर एवम् गैरकानुनी’ भएको भन्दै आलोचना गरेको छ ।
न्यायाधीशहरूले अल–शेहाबलाई ‘सार्वजनिक व्यवस्थामा गडबडी’ र ‘सामाजिक संरचनालाई अस्थिर’ गरेको आरोप लगाएका छन् भने आधिकारिक आरोपपत्रमा पनि सामाजिक सञ्जालमा पोष्ट गरिएका उनका विषयवस्तुले अफवाह सम्प्रेषण गरेको दाबी गरिएको छ।
उनले असन्तुष्ट व्यक्तिका खातालाई फलो र रिट्विट गरेको आरोप लगाइएको छ। दुई हजारभन्दा बढी फलोअर नभएको व्यक्तिगत खाताबाट जिज्ञासावश आफूले ट्विट र रिट्विट गर्नु र उनीहरूका दृष्टिकोण नियाल्नु आतंकवाद हो भन्ने आफूलाई नलागेको अपीलका क्रममा न्यायाधीशसमक्ष अल–शेहाबले बताएकी छन् ।
विशेष फौजदारी अदालतले उनलाई प्रतिआतंकवाद र साइबर अपराध कानुनअन्तर्गत ३४ वर्षको यात्रा प्रतिबन्धसहित ३४ वर्षको असाधारण कठोर सजाय सुनाएपछि उनले आफ्नो बचाउमा उक्त दलील पेश गरेकी हुन् ।