जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब भत्तामा वृद्धि भएको छ ।
मधेश प्रदेश सरकारको गत असार २३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा २ हजारले वृद्धि भएको छ।
मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची ९१० को क्र।सं। १ मा पारिश्रमिक प्रति महिना २ हजार थप गर्ने र क्र.सं. ५ को सवारी इन्धनको इकाई दरमा ‘लिटर’ शब्दको पछि ‘प्रति मोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आइतवार आफ्नो आधिकारीक वेबसाइटमा प्रदेश राजपत्र प्रकाशित गरेको छ । जसअनुसार अब मधेश प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६२ हजार ९७० रुपैयाँ तलब पाउने भएका हुन् । यस्तै, मन्त्रीले ५९ हजार ७८०, राज्यमन्त्रीले ५८ हजार ४९० र सहायक मन्त्रीले ५५ हजार रुपैयाँ तलब पाउने भएका हुन् ।
त्यस्तै, मुख्यमन्त्रीलाई प्रतिमहिना ३ सय लिटर सवारी इन्धन दिँदै आएकोमा अब प्रतिगाडी ३ सय लिटर इन्धन पाउनेगरी मन्त्रिपरिषद्बाट निर्णय गरेका हुन् । यस्तै, मन्त्रीले प्रतिमहिना २५०, राज्यमन्त्रीले २२५ र सहायक मन्त्रीले २०० लिटर सवारी इन्धन पाउँदै आएका थिए ।
यसैगरी, प्रदेशसभाका पदाधिकारी र सांसदहरुको समेत दुई हजार तलब बढेको हो । अब सभामुखले प्रतिमहिना ६१ हजार, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको सचेतकले ५९ हजार ७८०, दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र सभापतिले ५८ हजार ४९०, दलका प्रमुख सचेतक र सचेतकले ५५ हजार र सदस्यहरुले ५४ हजार ६ सय रुपैयाँ तलब पाउने भएका छन् ।
त्यसैगरी, प्रदेश नीति आयोगका उपाध्यक्षले ५६ हजार ४९० र सदस्यहरु ५३ हजार रुपैयाँ तलब पाउँदै आएकोमा अब उनीहरुको तलब क्रमशः प्रदेश राज्यमन्त्री तथा प्रदेश सहायकमन्त्री सरह दिने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवनाथ पौडेलले जानकारी दिए ।