धर्मेन्द्र पासवान, लहान । सिरहाको लहान नगरपालिकाको सरसफ़ाई र दिसा जन्य फोहोर व्यवस्थापन गर्न लहान नगरपालिकाको तर्फबाट प्रमुख (मेयर) महेश प्रसाद चौधरी तथा वाटर एडको तर्फबाट क्षेत्रीय निर्देशक मो. खैरुल र बंगलादेशको राष्ट्रिय निर्देशक हसन जहांले बंगलादेशको राजधानी ढाकामा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बढ्दो जनसंख्याले र तीव्र शहरीकरणले सरसफाइ र दिसा जन्य फोहोर व्यवस्थापन गर्न नगरपालिकालाई ठुलो चुनौती हुँदै आइरहेको थियो । सफा पानी, सभ्य शौचालय र राम्रो स्वच्छताको साथ मानिसहरूमा पुग्नको लागि सबैभन्दा ठूलो बाधाहरू मध्ये एक हो । मेयर चौधरीले पानीका स्रोतहरू फोहोरबाट प्रदूषित हुन्छन्, तर सुरक्षित पानी किन्नु महँगो हुन्छ, जसले गरिबीमा बाँचिरहेका मानिसहरूको जीवन कष्टकर भएको बताउँछन् ।
लहान नगरपालिकामा कतिपय ठाउँमा सरसफाइमा उचित व्यवस्थापन नहुँदा स्थानीयवासी हैरान हुनुपरेको छ । अव्यवस्थित शहरीकरणले बजारको बीचमा नै रहेको नहरमा कतिपय घरधनीहरूले शौचालयको ढल निकास गरिदिएका छन् । जसको कारण दुर्गन्ध फैलिएर नहर हुँदै हिंड्न् पनि अप्ठ्यारो हुने गरेको मेयर चौधरीले स्वीकार गरेका छन् ।
अहिलेको समयमा सरसफाइमा ठुलो चुनौतीमा खुला नाला र कतिपय स्थानमा घरधनीहरूले फोहर पानी सडकमा नै बगाउने गरेको हुँदा सडकमा फोहोर र दुर्गन्ध फैलिएको मेयर चौधरीले तर्क गरेका छन् ।
मेयर चौधरीले भने- मेरो लक्ष्य लहान नगरपालिका बजार मुख्य बजार भित्र रहेको नहरलाई ड्रेनेजमा परिवर्तन गर्नु । यो निर्माण भइसकेपछि पानी बग्न सजिलो हुन्छ र फोहोर पनि कम हुन्छ ।’
ड्रेनेज भनेको सतह र उप-सतह दुबै पानीलाई कृत्रिम रूपमा हटाउनु हो । ड्रेनेज प्रायः सिभिल इन्जिनियरिङ र निर्माण परियोजनाहरूको एक प्रमुख तत्व हो । यसले बाढी र अन्य क्षतिबाट बचाउँछ ।