काठमाडौं । श्रीमान्को मृत्यु भएकाले श्रीमतीबाट बिगो बराबरको रकम असुलउपर गर्नुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारले साढे ५ करोडको बिगो दाबी गर्दै भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहितका व्यक्तिविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नदीजन्य पदार्थको बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानूनी आर्थिक लाभ दिलाएको भन्दै मुद्दा दायर गरेको हो । भिमदत्त नगरपालिकाले भवानी कन्ट्रक्सन प्रालिसँग गरेको सम्झौतामा ५ करोड ४३ लाख ३१ हजार ८७२ रुपैयाँ राजश्व रकम हानीनोक्सानी गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
भट्टसहित तत्कालीन लेखा अधिकृत गोविन्द राज उपाध्याय, इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नायव सुब्बा विष्णुदेव भट्ट, लेखापाल सहायक पाँचौं दीपेन्द्र चौधरीविरुद्ध मुद्दा दायर गरिएको छ ।
त्यसैगरी भवानी कन्स्ट्रक्शनका सञ्चालकहरु इश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, कन्ट्रक्शनका प्रतिनिधि दिवाकर भट्टलाई प्रतिवादी बनाइएको छ । सञ्चालक इश्वरीको मृत्यु भएकाले उनकी श्रीमती खगेश्वरी भट्टबाट बिगो भराउनुपर्ने भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।