काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ असरफको गोली हानी हत्या गरिएको छ ।
प्रहरीले ती आक्रमणकारीलाई पक्राउ गरेको छ । उत्तर प्रदेश प्रहरीले पूर्व सांसद अतिक र उनका भाइको हत्या पुष्टि गरेको छ । प्रहरीका अनुसार आक्रमणकारी पत्रकार बनेर आएका थिए ।
यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई गम्भीर रुपमा लिँदै उच्चस्तरीय बैठक बोलाएका छन् । साथै उनले उच्चस्तरीय जाँचबुझका लागि आदेश पनि दिएका छन् । उच्चस्तरीय छानबिनका लागि तीन सदस्यीय न्यायिक आयोग गठन गरिएको छ ।
कानुनी प्रक्रिया पूरा गर्न पूर्व सांसद अतिक र उनका भाइलाई अस्पताल लैजाँदै गरिएको अवस्थामा उक्त घटना भएको प्रयागराजका प्रहरी कमिसनरले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
पत्रकारसँग उनीहरुले कुरा गरिरहेको अवस्थामा पत्रकार बनेर आएका आक्रमणकारीले एक्कासी गोली चलाएको प्रहरी कमिसनर रमित शर्माले जानकारी दिए । उक्त घटनामा एक प्रहरी पनि घाइते भएका छन् भने एक पत्रकार सामान्य घाइते भएको जनाइएको छ ।
प्रहरीले पक्राउ परेका आक्रमणकारीको पहिचान खुलाएको छैन । अहिले बयान लिने क्रम जारी रहेको र बयान पछि पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ ।
अस्पताल जाँदै गरेका पूर्व सांसद अतिक पत्रकारसँग कुराकानी गरिरहेको अवस्थामा क्यामरा अगाडि एउटा पेस्तोल देखिन्छ । उनीमाथि निक्कै नजिकबाट गोली प्रहार हुन्छ । त्यसलगत्तै गोलीबारी सुरु हुन्छ । गोली लागेका दुवै भाइ जमिनमा ढल्छन् ।
उत्तर प्रदेशका प्रहरी राजु पालको हत्या प्रकरणका साक्षी उमेश पालको हत्या आरोपमा पूर्व सांसद अतिक र उनका भाइ असरफलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरिरहेको थियो । दुवैको सोधपुछ सकिएपछि न्यायिक हिरासतमा पठाउनु अघि स्वास्थ्य परीक्षणका लागि उनीहरुलाई अस्पताल लैजाँदै गर्दा आक्रमण भएको हो ।
अतिकले प्रहरी हिरासतमा आफ्नो सुरक्षाका लागि सर्वोच्च अदालतमा निवेदनसमेत दिएका थिए । अतिक र अन्य दुई अभियुक्तलाई राजु पालको हत्या प्रकरणमा आजिवन काराबासको सजाय सुनाइएको थियो । उनका भाइ असरफलाई भने सफाइ मिलेको थियो ।
आपराधिक गतिविधिमा संलग्न अतिकविरुद्ध एक सयभन्दा बढी मुद्दा दर्ता रहेको छ। उनी र उनको समूहविरुद्ध पछिल्लो समय उत्तर प्रदेश सरकारले कडा कारबाही सुरु गरेको थियो ।
यसैबीच, दुई दिन अघि बिहीबार मात्रै अतिकका छोरा असद र उनका सहयोगी गुलाम मोहम्मद प्रहरीको इन्काउन्टरमा मारिएका थिए । उत्तर प्रदेश प्रहरीको विशेष टास्क फोर्सले झाँसीमा इन्काउन्टर गरेको थियो ।
असद र गुलामको अन्तिम संस्कार शनिबार प्रयागराजमा गरिएको थियो । उनीहरु दुई जना उमेश पालको हत्या प्रकरणमा सलंग्न रहेको आरोपमा प्रहरीको खोजीको सूचीमा थिए । साथै, दुवै जनाको नाममा सरकारले पाँच–पाँच लाख रुपैयाँको पुरस्कार पनि घोषणा गरेको थियो ।