काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले किसानको घरघर पुगेर दूध सङ्कलन गर्न दुग्ध विकास संस्थान (डीडीसी)लाई निर्देशन दिएका छन् ।
दूधको अभाव देखाउँदै डेरी उद्योगीले भारतबाट दूध आयातका लागि अनुमति माग्ने गरेको तर गाउँघरमा किसानको दूध बिक्री नभएको सम्बन्धी रातोपाटीले समाचार प्रकाशित गरेपछि मन्त्री भुसालले सो निर्देशन दिएका हुन् ।
डेरी उद्योगीले सुगमबाट मात्र दूध सङ्कलन गर्ने गरेकोमा किसानले आपत्ति जनाएपछि कृषि मन्त्री भुसालले डीडीसलाई दुर्गम गाउँघरमा गएर सङ्कलन गर्न निर्देशन दिएको बुझिएको छ ।
डीडीसीका महाप्रबन्धक सञ्जीव झाले आफूहरू सुगमबाट मात्र नभएर दुर्गमबाट पनि दूध सङ्कलन गरिरहेको बताए । उनले भने, ‘अझै खोजी रहेका छौँ, पायौँ भने अझै सङ्कलन गर्छौ ।’
दोधारा चाँदनी, सुंदा, दैजि, झलारी–(कञ्चनपुर), अलिताल गाउँपालिका (तुलाभाडी, मैरी, घरेलु, (लमकी, राजीपुर, मसुरिया, जोशीपुर, पथरिया), (पुनककवास, बेलैरी), (डोटी–कोराल खोला) लमजुङलगायतका ठाउँबाट डीडीसीले दूध सङ्कलन गरिसकेको र मन्त्रीको निर्देशनअनुसार अझै ठाउँ खोज्ने क्रम जारी रहेको उनले बताए ।
उनले भने ‘अहिले साँच्चै दूधको अभाव रहेको छ, कोरोनाकालदेखि नै दूधको अभाव हुँदै आइरहेको छ, दूधको अभाव अझै नियन्त्रण भएको छैन ।’ सकभर नेपाली किसानकै दूध सङ्कलन गर्ने आफूहरुको चाहना रहेको बताउँदै उनले सम्भव नभए केही समयका लागि भएपनि आयात खुला गर्नुपर्ने बताए ।