बलिउड अभिनेत्री प्रियंका चोपडाले नाकको शल्यक्रिया गलत भएपछि आफू गहिरो डिप्रेसनको सिकार भएको बताएकी छिन् ।
उनले भनिन्, ‘त्यतिबेला आफूलाई यो करिअर समाप्त हुन सक्छ भन्ने लाग्न थाल्यो ।’ यति मात्र होइन, प्रियंकाले त्यो समयमा उनलाई फिल्म मेकरले सम्झौता भएका फिल्ममा काम नदिएको, आफ्नो ठाउँमा अर्को कलाकार रिप्लेस गरेको बताइन् ।
नाकको शल्यकृयाका कारण आफूले करिअरमा निकै कष्ट सहनु परेको बताइन् ।
द हावर्ड स्टर्न शोमा प्रियंकाले नाकको शल्यकृयापछि ३ फिल्मबाट हटाएको बताइन् । अभिनेत्रीले त्यो समयलाई आफ्नो कालो चरणको रूपमा वर्णन गरेकी छिन् ।
उनले भनिन्, ‘शल्यक्रियापछि मेरो अनुहार बिल्कुलै फरक देखिन थाल्यो। म आफै डिप्रेसनमा गएँ । जसका कारण मेरो बलिउड करियर पनि खतरामा परेको थियो ।’
मिस वल्र्ड जितेको केही समयपछि प्रियंकालाई सास फेर्न समस्या भएको कारण डाक्टरकहाँ गएकी थिइन् । डाक्टरले उनको नाकमा पोलिप (टिस्यु ग्रोथ) भएको र त्यसलाई हटाउन शल्यक्रिया गर्नुपर्ने बताए ।
प्रियंकाको सर्जरी गलत भयो र उनको नाकको लुक पूरै परिवर्तन भयो । त्यसले प्रियंकालाई आफ्नो करिअर समाप्त हुन्छ की भन्ने डरले भित्रभित्रै खाएको बताइन् ।