सिरहा । यसवर्ष देशका अधिकांश भागमा सदरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।
यस वर्षको मनसुन समय ९जेठ १८ देखि असोज १३गते०को हावापानी आकलन प्रक्षेपण गरिएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले सन् २०१३ देखि हरेक वर्ष मनसुनको समय सुरु हुनुपूर्व ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको हावापानी आकलन सरोकारवालालाई प्रवाह गर्दै आइरहेको छ ।
यसै सिलसिलामा विभागले आज सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा ‘राष्ट्रिय मनसुन फोरम आयोजना गरी मनसुन समयको वर्षा तथा तापक्रमको आकलनको जानकारी गराएको छ ।
आगामी मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेश प्रदेशका अधिकांश भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
यसैगरी अधिकतम् तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ रहेको विभागले जनाएको छ । न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना छ ।
धेरैजसो भू–भागमा न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । यस्तै सुदूरपश्चिम प्रदेशका मध्य भू–भाग, कर्णाली प्रदेशका मध्यपश्चिमी भू–भाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका पूर्वी तथा पश्चिमी भू–भाग र मधेश प्रदेशका पूर्वी भू–भागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।