काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बजेटले युवा लक्षित कार्यक्रम ल्याउन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दिनानुदिन विदेशिरहेका युवाहरुको मागलाई बजेटले सम्बोधन गर्न नसकेको बताए ।
उनले भने, ‘युवालाई स्वदेशमा रोक्ने कार्यक्रम आउला, सरकारले योजनाहरू बनाउन पर्थ्यो । तर, त्यस्तो भएको छैन । नयाँ उद्योग खोल्ने योजना छैन, पुरानो उद्योगमा नयाँ रोजगारीको सम्भावना छैन । यो बजेट ल्याएको हो कि बजेट लुटेको हो ? भन्ने कुरा स्पष्ट भएन । बजेट ल्याएको होइन कि बजेट त लुटिएको हो जस्तो देखिन्छ ।’
उनले मधेशले राजस्वमा महत्त्वपूर्ण योगदान गरे पनि सरकारले मधेशको योगदानलाई सम्मान नगरेको गुनासो गरे । मधेशबाट आएको राजस्वभन्दा कम बजेट दिएको भन्दै उनले सरकारसँग जवाफ माग गरे ।