जनकपुर । कांग्रेस नेता तथा प्रतिनिधिसभा सांसद विमलेन्द्र निधिले भारतीय फिल्ममा सीतालाई भारतीय छोरीका रूपमा चित्रण गरिएकामा आपत्ति जनाएका छन् ।
‘सीता जनककी छोरी हुन्, जनक मिथिलाका राजा थिए, मिथिलाको राजधानी जनकपुर थियो, जनकपुर नेपालमा भएकाले सीता नेपालकी छोरी भएकामा विवादै छैन,’ उनले कान्तिपुरसँग भने ।
सीता र बुद्धको विषयमा केही भारतीय मिडियाले पटक–पटक विवाद झिकेर दुवै देशका नागरिकलाई तरंगित बनाउने गरेको उनले बताए । ‘नेपाल र भारतबीच राजनीतिकमात्र होइन, रोटीबेटीको सम्बन्ध छ, यसलाई अझ प्रगाढ बनाउनुपर्छ, यस्ता अभिव्यक्तिले हाम्रो सम्बन्धलाई आहत बनाउन सक्छ,’ उनले भने ।
जनकपुरवासीको नाताले मिथिला, जनक र सीताप्रति आफ्नो विशेष सम्मान र अपनत्व रहेको उनले बताए । ‘यहाँ रामसीतालाई देवीदेवताका रूपमा मात्र होइन, छोरीज्वाईंका रूपमा समेत स्नेह गर्ने चलन छ, जानकी मन्दिर यसको ज्वलन्त उदाहरण हो,’ उनले भने ।
फरक प्रसंगमा निधिले एमालेको दोहोरो चरित्रका कारण लाखौं युवाले अनागरिकको जीवन बिताउनुपरेको आरोप लगाए । ‘नागरिकता विधेयकमाथि संसद्मा बहस हुँदा विरोध गर्ने र सम्मानित राष्ट्रपतिजीले प्रमाणीकरण गर्दा विरोध गर्ने एमाले सुरुदेखि नै नागरिकताको विषयमा अनुदार छ,’ उनले भने ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न इन्कार गरेको नागरिकता विधेयक जिउँदै रहेको र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गरेको उनको तर्क थियो ।
‘म एमालेका साथीहरूसँग सोध्न चाहन्छु– ल भन्दिनोस्, दुवै सदनबाट दुई–दुई पटक पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने र प्रमाणीकरण नगरेको विधेयक शून्यमा जाने कुन संविधानमा लेखिएको छ ?,’ उनले भने ।