औरही गाउँपालिकाको ९औं गाउँसभा : एक विघामै सिंचाईका लागि बोर्डिङ दिने घोषणा


सिरहा । औरही गाउँपालिकाले सिँचाईका लागि किसानलाई अब एक विघा जग्गामै बोर्डिङ दिने भएको छ ।

गाउँपालिकाको ९ औं गाउँसभाको खुल्लासत्रमा गापा अध्यक्ष शिवजी यादवले यस्तो घोषणा गरेका हुन् । उनले प्रत्येक ४ विघामा एउटा बोर्डिङ र मोटर दिने घोषणा अनुसार सूचना निकाल्दा पनि किसानहरुले निवेदन नदिएकाले अब एक विघा जग्गामै बोर्डिङ दिने योजना ल्याउने बताए ।

उनले अगामी आर्थिक वर्षका लागि योजनाहरु प्रस्तुत गर्दै गाउँपालिकामा सिँचाईको समस्याकै कारण खेती नहुने गरेकाले सिँचाईमा ध्यान दिने प्रतिवद्धता जनाए ।

उनले चालु आर्थिक वर्षमा कृषि सडकहरु निर्माण र विद्युतीकरणको कामलाई प्राथमिकतामा राखेर गरेको बताए । उनले गाउँपालिकामा उत्पादन बृद्धि भए भारत निर्यात गरेर यहाँका किसानहरुको आर्थिक उन्नती हुने बताए ।

औरही गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको अध्यक्ष यादवले जानकारी दिए । उनले भने, ‘विकासमा हरेक जनताले अपनत्व ग्रहण गर्नुपर्छ । विकासको पक्षमा प्रतिपक्षी दल र जनताको सहयोग चाहिएको छ ।’

अध्यक्ष यादवले विकास निर्माणमा बाधा पुर्याउन अधिकांश काममा मुद्दा पर्ने गरेकोमा दुःख व्यक्त गरे । उनले भने, ‘गलत काम भएको छ भने मुद्दा दायर गर्नुपर्छ । तर राम्रो काम गर्दा पनि मुद्दा हाल्ने गलत प्रबृत्ति छ ।’

गाउँसभा मधेश प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उनले अध्यक्ष शिवजी यादवको नेतृत्वमा ५ वर्षमा गाउँको मुहार फेरिने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना समेत दिए ।

प्रकाशित : २०८० असार ११, सोमबार ०७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ