काठमाडौं । भारतमा हुने एकदिवसीय विश्वकपको तालिका सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले विश्वकपको तालिका सार्वजनिक गरेको हो । ४६ दिनसम्म चल्ने प्रतियोगिता विभिन्न १० भेन्यूमा खेलाउने आईसीसीको तालिकामा उल्लेख छ।
१० टोली सहभागी हुने विश्वकपमा नेपाल भने छनोटबाटै बाहिरिसकेको छ । जिम्बावेमा जारी विश्वकप छनोटमा नेपाल समूह ‘ए’बाट शीर्ष ६ मा अटाउन नसक्दा समूह चरणबाटै बाहिरिएको हो ।
प्रतियोगितामा खेल्ने ८ टोलीको टुंगो लागिसकेको छ । जसमा भारत, पाकिस्तान, इङ्ग्ल्याण्ड, अस्ट्रेलिया, न्युजिल्याण्ड, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिका रहेका छन् । जिम्बावेमा जारी विश्वकप छनोटबाट बाँकी दुई टोलीले सहभागिता जनाउने छन् ।
विश्वकप छनोटमा बाँकी दुई स्थानका लागि वेस्ट इण्डिज, जिम्बावे, नेदरल्याण्ड्स, श्रीलंका, स्कटल्याण्ड र ओमन भिड्नेछन् ।
विश्वकपमा हरेक टोलीले बाँकी ९ टिमसँग राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।
विश्वकपको उद्घाटन खेलमा ५ अक्टोबरमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भिड्नेछन् । चिर प्रतिस्पर्धी भारत र पाकिस्तानबीचको खेल पनि यही स्टेडियममा अक्टोबर १५ मा हुनेछ । प्रतियोगिताको फाइनल खेल नरेन्द्र मोदी स्टेडियममा नोभेम्वर १९ मा हुनेछ ।