सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य निरीक्षक/अधिकृत छैठौँ हाल जनस्वास्थ्य निरीक्षक/अधिकृत सातौँ कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार मिश्रविरुद्ध मंगलबार विशेष अदालतमा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको हो ।
मिश्रले आफ्नो सम्पत्तिमध्ये १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसाको वैधानिक स्रोत खुलाउन नसकेको अख्तियारले जनाएको छ । सोही कारण उनीविरुद्ध उक्त रकमबराबर बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
त्यस्तै मिश्रले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढबढाएको सम्पत्ति श्रीमतीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेको देखिएको पनि अख्तियारले जनाएको छ ।
सोही कारण उनीहरूको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र सरोज कुमारी र तुलसा कुमारीसमेतलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिएका छन् ।