रौतहट । रौतहटको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट सेवाग्रहीको रकम चोरी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
उनीहरुले बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट गत जेठ ५ गते गैरकानुनी ढंगबाट ९ लाख ट्रान्सफर गरेका थिए । पक्राउ परेकाहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
यादवको माछापुच्छ्रे बैंकको खाता नम्बर ०७५००६५३८२८०००१४ मा रहेको ९ लाख रकम जेठ ५, ६ र ७ गते दैनिक ३ लाखका दरले अन्य बैंकको खाता र खल्ती सेवामा अनधिकृत रुपमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका– १६ नगवाका २१ वर्षीय राज नारायण चौरासिया, वडा नम्बर १९ स्थित केहुनी विन्दाबासनीका २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखा बैदेश्वर गाँउपालिका–५ सिमबारी टोलका २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका–९ पिङगोलाका १९ वर्षीय महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका–२ भुट्टारका २० वर्षीय केवल रास्कोटी, सिरहा मिर्चैया नगरपालिका–८ भगवानपुरका १९ वर्षीय दिपे सदा र २३ वर्षीय श्रवण दास रहेका छन् ।
इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रमुख डीएसपी एकनारायण कोइरालाका अनुसार उनीहरूले पीडित व्यक्तिको बैंक खातामा पहुँच पुर्याएर विभिन्न व्यक्तिको खातामा अनधिकृत रुपमा रकम ट्रान्सफर गरेका थिए ।
‘पक्राउ परेकाहरुले बैंक खातामा पहुच पुर्याइ विभिन्न व्यक्तिको खातामा अनधिकृत रकम ट्रान्सफर गरी आर्थिक अपचलन गरेको अनुसन्धानबाट खुल्न आएको छ,ु डीएसपी कोइरालाले भने, ‘उनीहरुले अनधिकृत रुपमा ट्रान्सफर गरेको रकम एटीएमबाट गैरकानुनी तवरले निकाली आर्थिक लाभ समेत लिई ठगी गरेको खुलेको छ । पक्राउ परेकाहरुलाई ठगी सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।’
डीएसपी कोइरालाका अनुसार पक्राउ परेकाहरुले विभिन्न व्यक्तिलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाइलमा अनलाइन बैंकिङको यूजर नेम र पासवर्ड समेत लिएर खाताबाट रकम ट्रान्सफर गरेको अनुसन्धानमा खुलेको छ ।
माछापुच्छ्रे बैंकबाट यादवको रकम निकालेको घटनामा ११ जना संलग्न रहेको पनि प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ । तीमध्ये ७ जनालाई पक्राउ गरिए पनि ४ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुबाट प्रहरीले मोबाइल ६ थान, विभिन्न व्यक्तिहरुको विभिन्न बैंकको एटीएम १५ थान, मोटरसाइकल १ थान र ६६ हजार नगद रकम बरामद गरेको छ । पक्राउ परेकाहरुले सेवाग्राहीको ओटीपी नम्बर फेला पारी रकम निकालेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।