सिरहा । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।
आज बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक(दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
अहिले मधेस प्रदेशको सप्तरी जिल्लामा भारी वर्षा भइरहेको विभागले जनाएको छ। कोशी नदीको जलाधार क्षेत्र रहेको सप्तरीको बरमझियामा पछिल्लो २४ घण्टामा १०४।६ मिलिमिटर वर्षा भएको छ ।
यस्तै, चुरिया नदीको जलाधार क्षेत्र सप्तरीको राजविराज विमानस्थल क्षेत्रमा पछिल्लो २४ घण्टामा १७६।८ मिलिमिटर वर्षा भएको छ ।
बुधबार बिहानको मापनअनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम सेती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरुको बहाब सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको विभागले जनाएको छ ।
विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार केही जिल्लामा भएर बहने नदीहरुमा आकस्मिक बाढी आउनसक्ने जनाएको छ ।
इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भएर बहने केही स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
रसुवा, काभ्रेपलाञ्चोक, ललितपुर, नुवाकोट, गोरखा, लमजुङ, कास्की, पाल्पा, स्याङजा, डोटी र आसपास भइ बहने केही स-साना नदीहरुमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।