काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गरेको छ ।
परीक्षणका रुपमा गण्डकी प्रदेशबाट सेवाको सुरुवात भएको छ । यसलाई केही हप्तापछि नै देशभरकै यातायात व्यवस्था कार्यालयहरुका सेवाग्राहीका लागि विस्तार गरिने भएको छ ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइनबाटै लाइसेन्सको राजस्व तिर्न मिल्ने प्रणालीको शुभारम्भ गरे ।
यातायात व्यवस्था कार्यालयहरुमा लाग्ने लामो लाइट हटाउन र घरमै बसेर राजस्व तिर्न मिल्ने अवस्था बनाउन सेवा थालिएको बताए । यातायातबाट विचौलियालाई हटाउन पनि यो सेवाले सहयोग पुग्ने उनको दाबी छ ।
अब लिखित र ट्रायल परीक्षामा पास भएकाहरुले अनलाइनबाटै राजस्व भुक्तानी गर्न सक्छन् । कनेक्ट आईपीएससहित इसेवा, खल्ती लगायतका वालेटमार्फत लाइसेन्सको राजस्व भुक्तानी गर्न सकिने छ ।
विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले सेवा लिन लाइन बस्नैपर्ने अवस्था हटाउन अनलाइन सेवा थालिएको बताउँछन् ।
गण्डकीमा परीक्षण सफल भएपछि देशभर नै यो सेवाको सुरुवात हुने उनले बताए । यो व्यवस्था पनि लिखित परीक्षा, बायोमेट्रिक र ट्रायलका लागि मात्रै भौतिक रुपमा उपस्थित हुँदा पुग्ने उनको मत छ ।