पशुपतिमा जलहरीः गर्भगृहको भुइँमा भेटियो थप ४३ तोला सुन


काठमाडौं । पशुपतिनाथ मन्दिरको गर्भगृहमा स्थापित जलहरीमुनिको भागमा थप ४३ तोला सुन शुक्रबार बिहान भेटिएको छ। जलहरी राखिएको गर्भगृहको भुइँको भाग खोतलेर बढार्ने क्रममा उक्त परिमाणको सुन भेटिएको हो ।

पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले सुन खोज्ने क्रम जारी रहेको नेपालखबरलाई बताए । तर उनले कति परिमाणमा थप सुन भेटिएको विषयमा खुलाउन चाहेनन् ।

‘केही सुन जहलरीमुनिको भागमा सफाइ गर्ने क्रममा भेटिएको छ । तर कति परिमाण हो भन्ने अहिले एकिन भइसकेको छैन’, उनले भने, ‘हामी खोजबिन गरिरहेका छौँ । भरेसम्म कति परिमाण भन्ने एकिन हुन सक्छ ।’

पशुपतिको गर्भगृहमा लगाइएको १०७ केजी ९२४.७४ ग्राम सुनबराबरको जलहरीको हिसाब अझै मिल्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा लगाइएको सुनको जलहरीको हिसाब नमिलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।

अख्तियारले जलहरी निकालेर जोख्दा करिब आधा केजी सुन नपुगेको पाइएको थियो । तर त्यसअघि नेकपा माओवादी केन्द्रका सांसदहरुले जहलरीको १० केजी सुन गायब गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका थिए ।

जलहरीमा प्रयोग भएको सुनको हिसाब नमिलेपछि अझै खोजबिन भइरहेको छ । त्यहीक्रममा गर्भगृहबाट थप ४३ तोला सुन निकालिएको हो ।

गत साता मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, पुरातत्व विभाग, गुठी संस्थान र सुन चाँदी व्यवसायी संघका प्रतिनिधिलाई राखेर जलहरीको सुन जोखेको थियो । त्यसबेला करिब आधा केजी सुन अपुग पाइएको थियो ।

प्रकाशित : २०८० असार २२, शुक्रबार ११:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ