काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ६ दलीय गठबन्धनसहितको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ ।
जनमत पार्टीले दलकी प्रमुख सचेतक अनिता साहलाई सरकारमा पठाउने निर्णय गरेको अध्यक्ष सिके राउतले जानकारी दिए । राउतका अनुसार मंगलबार बसेको दलको बैठकले साहलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो ।
सरकारलाई समर्थन गरेपनी जनमतबाट मन्त्री बनेका थिएनन् । चैत १७ गते काङ्ग्रेस सहितको नयाँ मन्त्री थपिएपछि मन्त्रालयमा असन्तुष्टि जनाउदै जनमतका उपाध्यक्ष अब्दुल खानले राजिनामा दिएका थिए । त्यसबेला उनी खानेपानी मन्त्री थिए।
जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको छ : सञ्चारमन्त्री शर्मा
बजेटप्रती रुष्ट जनमतलाइ सरकारमा आउन प्रचण्डले आग्रह गरेका थिए। राउतले मन्त्रालय भने टुंगो नलागेको बताए ।
‘अनिता देवीजीको नाम मन्त्रीका लागि सिफारिस गरेका छौँ, मन्त्रालय व्यवस्थापनको जिम्मा प्रधानमन्त्रीलाई दिएको छु,’ राउतले भने ।
उनले मंगलबार बिहान प्रधानमन्त्रीसँग भेट गरेको पनि बताए। जनमतले कृषि र उद्योग मन्त्रालय दाबी गरेको छ ।
खानेपानी मन्त्रालय नलिने अडान कायमै छ । यस्तोमा माओवादीकै भागमा रहेको कुनै मन्त्रालय दिने प्रधानमन्त्रीको योजना छ ।
यद्यपि यसबारे प्रधानमन्त्रीले केही खुलाएका छैनन् । जनमतका प्रतिनिधि सभामा ६ सांसद छन् ।