सिनामंगलमा शंकास्पद बस्तु राख्ने खजाञ्ची पासवान कसरी पक्राउ परे ?


काठमाडौं । सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान सिनामंगलको खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको थियो ।

उक्त शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौं‌का प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा रौतहटका खजाञ्ची पासवान छन् । ‘एक जना पक्राउ परेका छन्। अरू हेर्दैछौं,’ एसएसपी कार्कीले भने ।

बिहान साढे ६ बजेतिर आएर शंकास्पद वस्तु हालेको सिसिटिभी फुटेजमा देखिएको एआइजी श्याम ज्ञवालीले बताए ।

‘त्यसपछि सिसिटिभी फुटेजबाट मनिटर गर्ने क्रममा ती व्यक्ति फेला परेका हुन्’, उनले भने, ‘घटनापछि त्यहाँ खटिएको सशस्त्र प्रहरीको पछाडि बसेर लुकेर हेरिरहेका थिए। मनिटरमा देखिएको हुलिया अनुसार मिलेकोले उनलाई पक्रेका हौं।’

सिसिटिभीमा दुई जना युवाहरू आएर शंकास्पद वस्तु राखेर गएको देखिएको उनले बताए ।

ज्वेलर्स अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ। त्यसमा बिस्‍फोटक पदार्थ नरहेको सेनाले जनाएको छ ।

ज्वेलर्स अगाडिबाट प्रहरीले एउटा पर्चा पनि बरामद गरेको छ। जसमा नेपाल उत्थान क्रान्तिकारी पार्टी उल्लेख छ ।

प्रकाशित : २०८० श्रावण ३, बुधबार १६:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ