मधेस प्रदेश सरकार अझै पाएन पूर्णता, के गर्दैछन् मुख्यमन्त्री यादव ?


जनकपुरधाम । मधेस प्रदेश सरकारबाट एमाले बाहिरिएको साढे तीन महिना बितिसक्यो । तर, सरकारले अझै पूर्णता पाएको छैन । गत चैत्र २१ गते एमाले सरकारबाट बाहिरिएको थियो ।

अझ एमालेले सरकारबाट बाहिरिँदा खाली रहेको मन्त्रालयहरूमा मन्त्रीहरू नियुक्त गर्दा सरकारका दुई जना मन्त्री सुरिता कुमारी, वसन्त कुशवाहालाई विना विभागीय बनाइयो ।

त्यस्तै, राज्यमन्त्रीद्वय शेख अवुल कलाम आजाद र सञ्जयकुमार यादवलाई पनि विना विभागीय बनाइएको करिब दुई महिनै हुन लाग्यो । अझै एमालेले छाडेका गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफैसँग राखेका छन् ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा बजेट ल्याइसकेपछि अब भने सरकारलाई पूर्णता दिने सङ्केत देखिएको छ । प्रदेश सरकारबाट एमाले बाहिरिँदा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी भएका थिए ।

सहमतिअनुरूप सरकारमा कांग्रेसले ३, जसपा र जनमतले २/२, माओवादी, लोसपा र नेकपा एसले १/१ मन्त्रालय पाउने सहमति भएको थियो । अहिले जसपाले ३ वटा मन्त्रालय लिएको छ । जसपाले तीन मन्त्रालय पाएकोमा सहमतिअनुसार अब सरकार विस्तार हुँदा एउटा मन्त्रालय छोड्नुपर्ने देखिन्छ ।

जसपाले एउटा मन्त्रालय छोड्दा कांग्रेसले थप एक मन्त्रालय गरी ३, जनमतले पनि थप एक मन्त्रालय गरी २, लोसपाले १ र नेकपा एसले १ वटा मन्त्रालयसहित सरकारमा जम्मा १० वटा मन्त्रालय रहनेछ ।

काँग्रेसका मधेस प्रदेश दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा प्रसाद यादवका अनुसार गठबन्धनभित्र छलफल यस विषयमा छलफल भइरहेको छ । यता मुख्यमन्त्री सरोजकुमार यादवले २/३ दिनमै मधेस प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।

उता, नेकपा एस र लोसपाले अझै एकरएक वटा राज्यमन्त्री पाउनुपर्ने नेतृत्वसँग माग गरिरहेका छन् ।

यसअघि जेठ ११ गते सरकार विस्तारमा माओवादी केन्द्रले असहमति जनाउँदै सरकारबाट बाहिरिएको घोषणासमेत गरेको थियो । तर पुनः छलफल गर्दै पछि निर्णय लिने भनी पछाडि हटेको थियो ।

प्रकाशित : २०८० श्रावण ८, सोमबार १०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ