एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय भएको छ।
इस्लामावाद ट्रायल कोर्टले शनिबार पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआइ)का अध्यक्ष रहेका खानलाई भ्रष्टाचार आरोपमा तीन वर्ष जेल सजाय सुनाएको द डनले जनाएको छ । तोशाखाना केसमा उनलाई तीन वर्ष जेलसँगै एक लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ ।
सुनुवाइको क्रममा अतिरिक्त जिल्ला न्यायाधीश (एडिएसजे) हुमायुन दिलावरले पूर्वप्रधानमन्त्री खानविरूद्धका आरोप पुष्टि भएको बताएका थिए । ‘इमरान खानले पाकिस्तानको निर्वाचन आयोगलाई नक्कली विवरणहरू दिएका थिए र भ्रष्ट अभ्यास गरेकोमा उनी दोषी देखिएका छन्,’ उनले भने ।
खानलाई निर्वाचन कसुरको धारा १७४ अन्तर्गत दोषी ठहर गरेको डनले जनाएको छ । यस प्रकरणमा अदालतले दोषी देखाउँदै ५ वर्ष राजनीति गर्न पनि प्रतिबन्ध लगाएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
एडिएसजे दिलावरले आदेशको कार्यान्वयनको लागि प्रतिलिपि इस्लामावाद प्रहरी प्रमुखलाई पनि दिन भनेका छन् ।
पाकिस्तान प्रहरीले खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरेको रोयटर्सले जनाएको छ । खानका वकिल इन्तजार हुसैन पन्जुथाले रोयटर्सलाई फोन गरी खान पक्राउ परेको जानकारी दिएका हुन् ।
सुनुवाइ सुरू हुनुअगावै अदालत परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । इजलासमा पनि वकिलहरूलाई मात्रै प्रवेश दिइएको थियो। उक्त सुनुवाइ हुँदा खान अदालतमा उपस्थित थिएनन् ।
खानले आफू प्रधानमन्त्री हुँदा पाएका उपहारहरू अवैध तरिकाले बेचेको आरोप छ। जसलाई तोशाखाना प्रकरण भन्ने गरिएको छ । यस प्रकरणमा पाकिस्तानको निर्वाचन आयोगले खानविरूद्ध मे १० मा उजुरी दिएको थियो ।