मधेशका मुख्यन्यायधिवक्ता ठाकुरमाथि यौन दुर्व्यवहारको आरोप


जनकपुरधाम । मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरमाथि हिंसा र यौन दुर्व्यवहारको आरोप लागेको छ । कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीले उक्त आरोप लगाएकी हुन् ।

महान्यायाधिवक्ता कार्यालयमा विगत ६ वर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत अनिलाकुमारी यादवले ठाकुरमाथि यौन दुर्व्यवहार र मानसिक यातना दिएको आरोप लगाएकी हुन् । उनले आफू महान्यायाधिवक्ताबाट असुरक्षित बनेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष गुहार मागेकी छिन् ।

उनले मुख्यमन्त्री यादवसमक्ष ठाकुरविरुद्ध साउन १४ गते उजुरी दिएकी थिइन् । तर उक्त उजुरीको पत्र अहिले सार्वजनिक भएपछि घटना बाहिरिएको हो। उनलाई पहिलो कार्यकालका मुख्यमन्त्री लालबाबु राउतले ुएक सहिद परिवार एक रोजगारु कार्यक्रम अनुसार करारमा कार्यालय सहयोगी नियुक्त गरेका थिए । मधेश आन्दोलनका सहिद रामविवेक यादवकी श्रीमती हुन् अनिला ।

पीडित यादवले मुख्यन्यायाधिवक्ता ठाकुरले मानसिक यातना दिएको र अप्रत्यक्ष रुपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । आफूमाथि कुनै पनि प्रकारको हिंसा गर्न सक्ने भन्दै सुरक्षा प्रदान गर्न उजुरीमा उल्लेख गरेकी छिन् ।

उनले उजुरीमा भनेकी छिन्, ‘‘न्यायाधिवक्ता ठाकुरले कार्यालयमा काम काज गर्दाको अवस्थामा काम ठिकै गर्छौं, काम तिम्रो राम्रो छ भन्ने गर्नु भएको तर तिम्रो अनुहारमा मुस्कान छैन, रिसाएको जस्तो गरी सँधै किन बस्छौ, म उपस्थित हुँदा सँधै हसमुख भई आउनु, मैले जे जे भन्छु त्यो सबै मान्नु, नत्र तिमी काममा आउनु पर्दैन, म तिम्रो म्याद थप्दिन भनि मानसिक यातना र अप्रत्यक्ष रुपमा यौन दुर्व्यवहार गर्ने कार्य गर्नु भएको छ ।’

यता मुख्यन्यायाधिवक्ताको कार्यालयले भने ठाकुरमाथि लगाएको आरोप निराधार भएको दाबी गरेको छ । शुक्रबार कार्यालयको नाममा जारी विज्ञप्तिमा हस्ताक्षर भने कसैको छैन । कार्यालयले करारको म्याद थप गर्ने विषयलाई लिएर महान्यायाधिवक्ताको चरित्र हत्या गर्न खोजिएको दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘म्याद थप नगर्ने विषय उठान गर्दा मैले नियुक्ति गर्ने व्यक्ति समक्ष निवेदन पेस गरेको हुँ भनेर बोलेको कुरा कार्यालय सहयोगी अनिलाले नै सोही कार्यकक्षमा लुकाई छिपाई अनुमतिबिना लिएको भिडियोबाटसमेत देखिन आएको छ । सहयोगी अनिलाले नै म्याद थप गर्ने विषयलाई नै लिएर मेरो चरित्र हत्या हुने गरी निवेदन प्रस्तुत गरेको विषय निजले तयार गरेको भिडियोबाट नै खण्डन गरेको प्रमाणसमेत मसँग सुरक्षित रहेको छ ।’

प्रकाशित : २०८० श्रावण २०, शनिबार १४:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ