यतिबेला विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या लिएर आउने बिरामीको संख्या उच्च छ। पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो ।
काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ। तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिइन् ।
उनले भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताइन् । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेका छन् । उनले यो पटक विगतको वर्षहरुभन्दा धेरै नै केसहरु देखिएको बताइन् ।
ड अधिकारीले भनिन्, ‘यो चाहीँ एउटा भाइरल इन्फेक्सन नै मानिन्छ । आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि हुन्छ । तर, जुन समुदायमा इपिडिमीक रुपमा फैलिन्छ । त्यो चाहिँ भाइरल इन्फेक्शनले गर्दा फैलिन्छ । धेरैजसोमा इडीनोभाइरल भन्ने भाइरस हुन्छ । त्यसले गर्दा यो रोग फैलिन्छ र, यो आँखा पाक्ने रोगमा चाहीँ आँखा रातो हुने, पाक्ने गर्छ ।’
आँखा पाक्ने साथै रुघाखोकी, ज्वरो पनि आउनसक्ने उनको भनाइ छ। यसलाई महामारी नै भनेर भन्न नमिल्ने उनले बताइन् । प्रायजसो अगष्ट, सेप्टेम्बरमा यो समस्या देखिन्छ । ‘तर, यो पटक पहिलेकोभन्दा धेरै नै केसहरु पाइरहेका छौं। अरु बेलामा पनि आँखा पाक्ने समस्या देखिन्छ । सायद गर्मीकै कारणले भाइरसको इन्फेक्सन बढेको हुनसक्छ । धेरै जसो व्यक्तिहरुलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुन्छ । यस्तै, अफ्ठ्यारो महसुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुन्छ। कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ । धेरै जसो बिरामीले बिहान उठ्दा आँखा पूरै टालिएको भनेर भन्नुहुन्छ। उपचार नै नगरेर त्यत्तिकै छोड्यो भने आँखाको भित्री तहमा सेतो रङको पत्रहरु जम्न थाल्छ,’ उनले भनिन् ।
त्यो लेयरहरुलाई पनि त्यत्तिकै छोडिदियो भने आँखाको कालो नानीमा पनि घाउ हुनसक्ने उनले बताइन्। कसै कसैलाई कालो नानीमा घाउ भएर अट्याक गर्नसक्ने उनको भनाइ छ ।
आँखाको नानी विशेषज्ञ डा लिना बज्राचार्यले भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताइन्। उनले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताइन् । डा बज्राचार्यका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठयारो महसुस हुने हुन्छ। यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने बताइन् । डा बज्राचार्यले एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिनसक्ने भन्दै यो आँसुबाट सर्ने बताइन् ।
उनले भनिन्, ‘आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्छ । यो एकदम फैलिन सक्छ । आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्छ। आँखा पाकिहाल्यो भने आइसोलेसनमा बस्नुपर्छ । आँखाको आँसुबाट फैलिन्छ । सँगै बसेर सँगै गफ गरेर फैलिने होइन। एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिने हो । त्यसकारण कुनै व्यक्तिको आँखा पाकेको छ भने उसले परिवारलाई सर्न नदिनका लागि समय समयमा साबुन पानीले हात धुनुपर्छ, स्यानिटाइजर प्रयोग गर्नुपर्छ । आँखा छोइसकेपछि वा आँखामा ड्रप हालिसकेपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ ।’
आँखा रोग विशेषज्ञहरुले कुनै पनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याँई गर्न नहुने भन्दै आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकित्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग गर्न नहुने सुझाव दिएका छन् ।
के गर्ने ?
– आँखा चिसोले तथा बरफले सेक्ने
– सफा पानीले आँखा सफा गर्ने
– घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने
– संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने
के नगर्ने ?
– संक्रमित आँखालाई सकेसम्म नचलाउने
– स्कुल, कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने
– अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
– आफूखुशी औषधिको प्रयोग नगर्ने