काठमाडौं । सुनसरीको ईटहरी र मोरङको हरैँचालगायत आसपासका क्षेत्रमा पछिल्लो १ घण्टा अति भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्र भई बहने बुढीखोला, लोहन्द्रा खोला र चिसाङखोलालगायत आसपासका स-साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ ।
यी खोला आसपासका तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज काठमाडौं उपत्यकाको बागमती नदीसहित पूर्वी राप्ती र कमलाका केही स-साना सहायक नदीमा बहाब उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ । यी नदीमा जलसहत सतर्कता तहसम्म पुग्नसक्ने पूर्वानुमान छ ।
यस्तै, मधेश प्रदेशका स–साना नदीमा पनि जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ । महाकाली नदीमा जलसतह सामान्य घटबढ भए पनि सतर्कता तह आसपास हुने महाशाखाले जनाएको छ ।
आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहनेछ । यद्यपि, बढ्दो क्रममा रहने महाशाखाको पूर्वानुमान छ ।