महोत्तरीमा बाढीले दर्जनभन्दा बढी स्थानमा क्षति, डुबानको उच्च जोखिममा जलेश्वर


महोत्तरी । दुई दिनदेखिको निरन्तर वर्षाले महोत्तरीको सदरमुकाम जलेश्वर डुबानको उच्च जोखिममा परेको छ । नजिककै रहेका मडई, रतवारा र रातु नदीमा आएको बाढीले सदरमुकामलगायत आसपासका क्षेत्र डुबानको उच्च जोखिममा परेका हुन् ।

मंगलबार रातु नदीको सीमाक्षेत्र पालिका, बस्ती र तटीय क्षेत्र अनुगमन गरेको जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाभर उच्च सतर्कता राख्न अपिल गर्दै अत्यावश्यक सरसामान तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

रातु नदीमा आएको बाढीले बर्दिबासको वडा नम्वर ३, ६, १४, भंगहा नगरपालिकाको केही वडा, बल्वा नगरपालिकाको वडा नं. ११, १, ४, महोत्तरी गाउँपालिकाको वडा नं. ३ लगायतमा दर्जनभन्दा बढी स्थानमा तटबन्ध भत्काएको छ ।

बाढीले महोत्तरी गाउँपालिकाको रतवारा र मडईमा केही स्थानमा तटबन्ध टुटेर खेतहरूमा बाढी प्रवेश गरेको छ । यता, बलवा नगरपालिका– १ बन्चौरीस्थित रातुपुलको पूर्वपट्टी करिब सय मिटर तटबन्ध कटान गरी बाढी बस्तीमा पसेको छ। पूर्वतर्फ रहेका भगवानपुर, भ्रमरपुरालगायतको बस्ती डुबानको उच्च जोखिममा परेको छ ।

यस्तै, बलवा नगरपालिकाकै तिलगढमा समेत तटबन्ध कटान हुँदा केही घर डुबानमा परेका छन् । बलवा नगरपालिका– ११ को भगवतीपुरको मुसहर बस्ती डुबानमा परेको छ ।

निरन्तरको वर्षाले नदीको जलस्तर बढ्ने क्रम जारी छ । समितिले बाढीले प्रभावित हुन सक्ने सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन र स्थानीय विपत् व्यवस्थापन समितिलाई तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत तयारी अवस्थामा रहेको र आवश्यक पर्ने स्थानहरूमा पुगेर केही व्यक्तिको रेस्क्युसमेत गरिसकेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिए ।

यता महोत्तरीको सोनमा गाउँपालिका– १ निवासी तस्लिम अन्सारीका ३८ वर्षीय छोरा जाबिर अन्सारीको नदी तर्ने क्रममा बगेर मृत्यु भएको छ । उनको शव सीमापारि भारतीय क्षेत्रमा रहेको मझौरामा फेला परेको हो ।

प्रकाशित : २०८० श्रावण २४, बुधबार १६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ