जयनाथ यादव, सिरहा । सिरहाको नवराजपुर गाउँपालिकामा रहेका सार्वजनिक पोखरीहरुको ठेक्का लगाउने विषयमा कर्मचारी कुट्ने समूहमाथि कारवाही हुने भएको छ ।
गाउँपालिकाले पोखरीहरु ठेक्का लगाउने प्रक्रिया अगाडी बढाएपछि एक समूहले असन्तुष्टि जनाउदै आन्दोलन गरेको थियो । आन्दोलन गर्न पुगेकाहरु कर्मचारीमाथि कुटपिट गर्नुका साथै कार्यालयबाट विद्युतीय समानहरु समेत लुटेर लगेको थियो ।
कर्मचारीमाथि कुटपिट र कार्यालयको समान लुटेर लगेपछि संलग्न व्यक्तिहरुमाथि कारवाहीको माग गर्दै पालिका अध्यक्ष शिव उदगार यादवसहितका जनप्रतिनिधि र उनका पक्षले विगत तीन दिनदेखि आन्दोलन गर्दै आएको थियो ।
उनीहरु ईलाका प्रहरी कार्यालय महेशपुर पतारी पुगेर प्रदर्शनलाई निरन्तरता दिएपछि सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द ईवा लिम्बु शुक्रवार त्यहां पुगेका थिए । एसपी लिम्बुले कर्मचारी कुट्ने र समानहरु लुट्नेको पहिचान गरी कारबाही गर्ने प्रतिबद्धता जनाए ।
पोखरी ठेक्कामा असन्तुष्टि जनाउदै आन्दोलनको नेतृत्व गरिरहेका शिवराम यादवको हात भांचिएको थियो । प्रहरीले लखेट्दा लडेर उनको हात भांचियो । तर उनले संजीव यादव, राम दयाल यादव र मुकेश यादवले हात भांचेको भन्दै तीनै जनामाथि प्रहरीमा मुद्दा दर्ता गराएका थिए ।
शिवरामले दर्ता गराएको झूठा मुद्दा खारेज गर्ने पनि एसपी लिम्बुले प्रतिवद्धता जनाए । उनले आन्दोलनलाई सम्बोधन गर्दै भने, ‘निर्दोष फस्नु भएन । तर जो दोषी छन् उनीहरुमाथि कारबाही हुन्छ ।’
उनले पालिकाको जेसिबी र टिपर तोड्फोड गर्नेमाथि र सडक विस्तार गर्ने क्रममा दलितमाथि कुटपिट गर्ने तथा वडा नम्बर २ को लेटरप्याड किर्ते गर्नेमाथि पनि कारबाही अगाडी बढाउने बताएका छन् ।
प्रहरी प्रमुख लिम्बुको प्रतिवद्धतापछि पालिका अध्यक्ष यादव पक्षले गरेको आन्दोलन स्थगित भएको छ ।