जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।
अधिवेशन असोज २४ र २५ गते जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा हुनेछ । असोज २४ गते मध्यान्ह १२ बजे अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने कार्यक्रम तय भएको एमाले मधेश प्रदेशका ईन्चार्ज योगेश भट्टराईले जानकारी दिए ।
उनका अनुसार खाद्य, आवास, मञ्च, हल स्वंयमसेवकलगायतका उपसमितिले व्यवस्थित रुपले काम अघि बढेका छन् । आठ जिल्ला, बिभाग र जनसंगठनबाट समावेसिताका आधारमा करिब एक हजार प्रतिनिधिको छनौट भैसकेको छ ।
केहि पालिकामा अधिवेशन प्रतिनिधि चयनमा विवाद देखिएको छ । विवाद मिलाउने प्रयास भइरहेको र सहमती नभए चुनाव गराएर प्रतिनिधि चयन गरिने एमालेका एक नेताले बताए ।
एमाले मधेश प्रदेश कमिटीले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तय गरेको छ ।
एमाले मधेश प्रदेशसभामा सबभन्दा ठूलो दल बनेको छ । ०८४ को चुनावमा यस प्रदेशमा बहुमत ल्याएर सरकार बनाउने किसिमले एमालेका नेताहरु दिनरात खटिरहेका छन् । त्यसका लागि अधिवेशनबाट योग्य र सक्षम नेतृत्व चयन गर्नुपर्ने एमाले नेताहरुको जोड छ ।