वाहिद हदीस,
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सातौँपल्ट मन्त्री थपेर सरकारलाई पूर्णता दिएका छन् । सरकार गठन भएको झण्डै १० महिनापछि शुक्रबार मधेश मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
लामो समयदेखि विनाविभागीयमन्त्री रहेकी जनता समाजवादी पार्टीकी सुरिता साहलाई मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले खेलकुद तथा समाज कल्याण मन्त्रीमा नियुक्त गरेका हुन् ।
जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादव मन्त्री रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर मुख्यमन्त्रीले साहलाई खेलकुद तथा समाज कल्याण मन्त्री बनाएका हुन् । योसँगै मधेशमा मन्त्री १२ र राज्यमन्त्रीको संख्या २ पुगेको छ । पहिलोपटक मधेश प्रदेश सरकार गठन हुँदा मुख्यमन्त्रीसहित ७ जना मात्र मन्त्री थिए । त्यसपछि जसपा विभाजन हुँदा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फुटाएर ७ बाट १० वटा बनाएका थिए ।
६ दलीय सरकार भएकाले सबै दललाई रिझाउन मुख्यमन्त्री यादवले बाध्यतावश मन्त्रालयको संख्या बढाएको मधेश प्रदेश सरकारका मुख्य न्याधिवक्ता वीरेन्द्र ठाकुरले जिकिर गरे । प्रदेशसभामा रहेको संख्याको २० प्रतिशतसम्म सरकारले मन्त्रीपरिषद् बढाउन सक्ने कानुनी प्रावधान रहेको उनले बताए । ‘मधेश प्रदेशसभामा सभामुखसहित १ सय ७ जना सदस्य छन् । यस हिसाबले मधेशमा २१ जनासम्म मन्त्री राख्न सकिन्छ, मन्त्रीपरिषद् ठूलो भएमा सरकारको खर्च पनि बढ्ने भएकाले त्यो व्यावहारिक भने हुँदैन’, उनले भने ।
महोत्तरी क्षेत्र नम्बर २ (ख)बाट प्रत्यक्षतर्फ स्वतन्त्र चुनाव जितेकी साहलाई जसपामा प्रवेश गराएर सामाजिक विकासमन्त्री बनाइएको थियो । तर पछि मन्त्रालय फुटाउँदा मुख्यमन्त्री यादवले उनलाई जिम्मेवारीविहीन बनाइदिए र विनाविभागीय मन्त्रीका रूपमा रहेकी थिइन् ।
अर्का मन्त्री रिसाए
यता, आफ्नो जानकारीविनै मन्त्रालय फुटाएकोमा जनमत पार्टी संसदीय दलका नेता एव शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले आपत्ति जनाएका छन् । मन्त्रिपरिषद्मा मन्त्रालय फुटाउने कुनै प्रस्ताव नै नल्याई अवैधानिक तरिकाले मुख्यमन्त्रीले मन्त्रालय फुटाएको उनले बताए । आफ्नो पार्टी केन्द्रीय गठबन्धनमा रहेकाले प्रदेश सरकारमा बस्ने वा नबस्ने विषयमा केन्द्रमा छलफल भएपछि मात्रै कुनै निर्णय हुने उनले बताए ।
सरकारले पूर्णता पाएसँगै मधेश प्रदेशमा जसपाको मुख्यमन्त्रीसहित ४ मन्त्री र १ राज्यमन्त्री, कांग्रेसको ३ मन्त्री, जनमतको २ मन्त्री, लोसपाको १ मन्त्री, माओवादी केन्द्रको १ मन्त्री तथा १ राज्यमन्त्री र नेकपा एसको १ मन्त्री छन् ।