जयनाथ यादव, लहान । सिरहाको नवराजपुर गाउँपालिका ३ जगतपुरस्थित पिकअपले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
हुलाकी सडकमा हिजो दिउँसो करिब ३ बजे स ४ प ७५६६ नम्बरको मोटरसाइकल पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको अबस्थामा सोही दिसामा जादैं गरेको स १ च १७६५ नम्बरको पिकअपले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा नवराजपुर गाउँपालिका १ तामासुईयाका ३० वर्षीय अशोक कुमार यादवको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्र राज पाण्डेले जानकारी दिए । घाइते यादवको उपचारका लागि प्रादेशिक अस्पताल लहान ल्याउने क्रममा बाटैमा मृत्यु भएको उनले बताए ।
सोही ठाउँका २४ वर्षीय पवन चौधरीको खुट्टा भाचेको छ । उनको प्रादेशिक अस्पताल लहानमै उपचार भईरहेको छ भने पिकअप र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।
मृतक यादव र घाइते चौधरी मोटरसाईकल गुडाएर गइरहेको अबस्थामा पिकअपले पछाडीबाट नै ठक्कर दिएको थियो ।