मधेशका डाक्टरलाई मधेशमै फर्काउनुपर्छ : मन्त्री सिंह


रौतहट । मधेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री वीरेन्द्रप्रसाद सिँहले मधेशलाई स्वस्थ, शिक्षित र समृद्ध प्रदेश बनाउन सबै क्षेत्रका व्यक्तिमा सकारात्मक कार्य थालनी र कर्तव्यबाेध आवश्यक रहेकाे बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय राैतहटद्वारा साेमबार आयाेजित वार्षिक समीक्षा गाेष्ठीमा मन्त्री सिँहले नकारात्मक भाव र एकअर्काकाे खुट्टा तान्ने प्रवृत्तिका कारण मधेश मानव विकास सूचकांकमा पछि परेकाे औंल्याए । उनले भने, “भाषणले समृद्ध मधेश बन्न सक्दैन । मधेश हाम्राे हाे भन्ने भावना विकसित नहुँदासम्म मधेशकाे विकास सम्भव छैन ।”

आफूले सानैदेखि नराम्राे गर्नेमा अरूले राम्रा काम गर्दा देखिनसह्ने बानीका कारण मधेश पिछडिएकाे भन्दै उनले स्वस्थ मधेश निर्माण गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीले आफ्नाे दायित्व सम्झनुपर्ने उल्लेख गरे ।

मन्त्री सिँहले देशका तीन तहका सरकारबीच समन्वय नरहेकाे प्रष्टयाउँदै स्थानीय सरकारले प्रदेश सरकारलाई र प्रदेश सरकारले संघ सरकारलाई नटेर्ने दुर्भाग्यपूर्ण स्थिति रहेकाे दुखेकाे प्रकट गरे । उनले आआफ्ना कमजाेरी हटाएर सहयाेग र समन्वयबाटै काम गरेपछि प्रदेशको भलाे हुने बताए ।

उनले भने, ‘सुगम र अनुकूल वातावरण हुँदा पनि मधेश प्रदेश सबैभन्दा गरीब छ । जसले गर्दा हाम्राे कर्तव्यशैलीमाथि प्रश्नचिह्न खडा भएकाे छ । यस विषयमा गहन मनन जरूरी छ ।’

उनले मधेस प्रदेशमा जन्मिएका र हुर्किएका दक्ष चिकित्सकहरू काठमाडौं, पाेखरा, धरानजस्ता ठाउँमा राम्राे गरे पनि मधेशमा काम गर्न नआउने विषयबारे समीक्षा हुनुपर्ने बताए । उनले भने, ‘मधेशमा जन्मिएका चिकित्सकलाई मधेश फर्काउने वातावरण बनाउनुपर्छ ।’

प्रकाशित : २०८० आश्विन २३, मंगलवार ११:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ