किबुज । प्यालेस्टिनी विद्रोही समूह हमासले असोज २० गते गरेको आक्रमणपछि दक्षिण इजरायलको किबुज क्षेत्रका सबै बासिन्दालाई सुरक्षित स्थानमा सारियो । त्यो क्षेत्र अहिले इजरायली सेनाको नियन्त्रणमा छ ।
इजरायलको दक्षिणी क्षेत्र किबुजमा हमासले आक्रमण गरेको २ साता भयो । १० नेपालीसहित १४ सयभन्दा बढीको ज्यान जानेगरी आक्रमण भएको गाजापट्टी छेउको यो क्षेत्र अहिले सेनाको नियन्त्रणमा छ ।
यो क्षेत्रबाट विदेशीसँगै सबै इजरायलीलाई सुरक्षित क्षेत्रमा सारिसकिएको छ । इजरायली र नेपाली परिवार बसोबास गर्ने यी घर तथा बंकर अहिले खाली छन् । तर हमास लडाकुले फेरि जुनसुकै बेला आक्रमण गर्ने त्रास उत्तिकै छ । हमास आक्रमणको त्यो विभत्स दृश्य अझै भुल्न सकेका छैनन् स्थानीयले ।
सामूहिक खेती गरिने किबुज क्षेत्रका यी फाँटमा न इजरायली छन्, न उनीहरुलाई सघाउने विदेशी कामदार । देश युद्धमा होमिएकाले युवाहरु बन्दुक बोकेर युद्ध मैदानमा होमिएका छन् । यस्तोमा केही स्थानीयले भने सैनिकहरुलाई आवश्यक सामग्री निःशुल्क वितरण गरिरहेका छन् ।