काठमाडौं : गौशालामा प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका ८ जनाविरूद्ध म्याद थप भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार गौशालामा प्रदर्शन गर्नेक्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको थियो । जसमध्ये ८ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको परिसर प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा, श्रीनिवास आचार्यसहित ८ जनाविरूद्ध म्याद थप भएको हो ।
निकेश बाँस्तोला, सुजन खड्का, मेहरमान बस्नेत, दिपेश खड्का, अनिल गुरूङ र मनोज थापामाथि अनुसन्धान गर्न म्याद थप भएको हो । उनीहरूविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसुर र अभद्र व्यवहार मुद्दामा म्याद थप भएको प्रहरीले जनाएको छ।
अदालतले श्रीनिवास, मनोज, विनञ्जय र निकेशलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ भने अरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईंले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा पनि प्रहरीसँग झडप भएको थियो ।
प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको थियो । त्यसक्रममा प्रहरीसहित ३८ जना घाइते भएको परिसरले जानकारी दिएको छ ।