जयनाथ यादव, लहान । सिरहाको विभिन्न नाकाबाट भन्सारका कर्मचारी र प्रहरीको सेटिङ्गमा खुलेयाम तस्करी भइरहेको पाइएको छ ।
सिरहाको ठाडी, मरीकटोल, आभेनगर, कुर्सन्डी, झाझपट्टी बरहरी, गर्गमा, बरियारपट्टी लगायतका क्षेत्रबाट तस्करी भइरहेको छ । तस्करले भारतीय बजारबाट नेपाली बजारसम्म दिनहुँ करोडौं मुल्य बराबरको समान भन्सार छलेर ल्याउने गर्छन् । समान नेपाल भित्र्याउन भन्सारका कर्मचारी र प्रहरीलाई तस्करले मासिक रकम बुझाउने गरेको स्रोतको दावी छ ।
तस्करीका लागि व्यापारीसंग सेटिङ मिलाउन नेपाल र सशस्त्र प्रहरीको घुमुवाले भुमिका खेल्छन् । उनीहरु सम्बन्धित प्रहरी चौकी र सशस्त्र क्याम्पका ईन्चार्जदेखि जिल्ला र प्रदेशसम्म तस्करको पैसा पुर्याउने गर्छन् ।
जिल्लादेखि प्रदेशसम्म सेटिङ्ग मिलाएकाले तस्करीका समान राजमार्ग क्षेत्रका व्यापारीसम्म सहजै पुर्याउने गरेको एक व्यापारीले सुनाए । उनका अनुसार भारतबाट दैनिक सुर्तिजन्य सामान, ईलेकट्रोनिक समान, लत्ताकपडा, कस्टमेटिक, दाल, चिनीलगायतका समान तस्करी हुन्छ । नेपालबाट पनि सुपारी र रक्सीलगायतका समान भारत तस्करी हुन्छ ।
घुमुवा र प्रहरी चौकीका ईन्चार्जले महिनाबारी उठाएर तस्करी गर्न दिएपछि त्यही कार्यरत प्रहरीहरु भने रुष्ट हुन्छन् । सिमा क्षेत्रका प्रहरी चौकीका एक प्रहरी जवानले भने, हामी कसरी तस्करी रोक्न सक्छौं । ईन्चार्ज र माथिको निर्देशन पालना गर्नुपर्छ । हामी त मुकदर्शक मात्र बनिरहेका छौं ।
आर्थिक सगंकटले देशको टाट पल्टिने अवस्थामा छ । तर दैनिक करोडौंको समान तस्करी हुंदा पनि राजश्व उठ्न सकिरहेको छैन् । यसमा भन्सार र प्रहरीका उच्च अधिकारी जिम्मेवार छन् । उनीहरु नै कमाउ धन्दामा लागेपछि मासिक करोडौं राजश्व गुमिरहेको छ ।