एजेन्सी । भारतको दिल्लीस्थित अलिपुरमा रहेको दयाल मार्केटमा भीषण आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ।
गएराति करिब ४ घण्टासम्म भएको आगलागीमा परेर अरु ४ जना गम्भीर घाइते भएका छन् भने खोजी र उद्धार जारी छ। दयाल मार्केटमा रहेको एक रासायिनक गोदाममा आगलागी भएको दिल्ली प्रहरीले जनाएको छ ।
तीव्र गतिमा फैलिएको आगोबाट कैयौँ मिटर टाढासम्मको बजार प्रभावित भएको छ । दिल्लीका दमकल अधिकारीहरुका अनुसार हिजो साँझ साढे ५ बजे शुरु भएको आगो २२ वटा दमकलले राति ९ बजेपछि नियन्त्रणमा लिएका थिए ।
आगालागीमा परी ज्यान गुमाउनेको पहिचान खुलेको छैन । गोदामबाट फैलिएको आगोले वरपरका घरमा समेत क्षति पुर्याएका कारण मृतक गोदामसँग सम्बन्धित मात्रै नभएको प्रहरीको अनुमान छ ।
दिल्लीकै शाहदरा क्षेत्रमा गत १८ र २६ जनवरीमा भएका दुई आगलागीका घटनामा १० जनाको मृत्यु भएको थियो ।