बलिउड अभिनेता सलमान खान जतिकै उनका अंगरक्षक (बडिगार्ड) शेरा पनि चर्चित छन् । शेरा करिब २९ वर्षदेखि सलमानलाई सुरक्षा दिइरहेका छन् ।
सलमान र शेराको राम्रो सम्बन्ध छ। शेरा सलमानलाई मालिक भनेर बोलाउँछन् । सलमान आफ्नो बडिगार्डसँग सामाजिक सञ्जालमा तस्बिर सेयर गरिरहेका हुन्छन् ।
पछिल्लो समय सलमानलाई बारम्बार ज्यान मार्ने धम्की आइरहेको हुन्छ। उनी आफ्नो सुरक्षामा निकै पैसा खर्च गर्छन् ।
ज्यान मार्ने धम्कीबीच उनले बुलेटप्रुफ कार समेत किनेका छन् । उनले सेतो रंगको निसान पेट्रोल एसयुभी कार किनेका हुन् । उक्त कारको मुल्य १ करोड रहेको बताइएको छ ।
त्यस्तै सलमान आफ्नो बडिगार्ड शेरालाई पनि महंगो पारिश्रमिक दिन्छन् । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार शेरा वार्षिक २ करोड भारू पारिश्रमिक लिन्छन् । उनी एक महिनाको १५ लाख भारू पारिश्रमिक लिन्छन् ।
शेराले सलमानलाई चण्डिगढ जाँदा पहिलो पटक सुरक्षा दिएका थिए । त्यसपछि उनीहरू एकसाथ छन् । शेराले एक अन्तर्वार्तामा सलमानको लागि आफ्नो ज्यान दिन सक्ने बताएका थिए ।
‘जबसम्म म जिउँदो छु सलमानको साथ वा उनको पछाडि होइन अगाडि देखिनेछु, ताकि उनीमाथि आउने खत्तरालाई पहिला सामना गर्ने सकूँ,’ उनले भनेका थिए ।
शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो । उनको जन्म मुम्बईको एक सिख परिवारमा भएको थियो । शेराको आफ्नै एउटा सेक्युरिटी एजेन्सी छ जसले व्यापारी र सेलिब्रेटीलाई सुरक्षा दिन्छ।
उनले सेक्युरिटी एजेन्सीको नाम आफ्नो छोरा टाइगरको नाममा राखेका छन् । शेराले माइकल ज्याकसन, विल स्मिथ, ज्याकी चेन जस्ता हलिउड कलाकारलाई पनि सुरक्षा दिएका छन् ।