सिरहा । सिरहा जिल्लामा दुई चरणमा दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । पहिलो चरणमा फाल्गुन १३ देखि १७ गतेसम्म र दोस्रो चरणमा फाल्गुन २१ देखि २५ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।
दादुरा रुबेला खोप अभियान सञ्चालन हुने विषयमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले ९ महिनादेखि १५ वर्ष मुनीका बालबालिकाहरुलाई खोप लगाइने बताए । उनले अन्धविश्वासमा नपरी खोप लिन पनि आग्रह गरे ।
खोप सञ्चालनका लागि जिल्लाभरमा ४६५ वटा खोपकेन्द्र तोकिएको छ । संस्थागत विद्यालय, सामुदायिक विद्यालय, विद्यालय नभएको स्थानमा वडा, वस्ती र टोलहरुमा, नियमित खोप सेवा सञ्चालन भइरहेको स्थानमा र विगतमा खोप अभियान सञ्चालन गरिएको खोप केन्द्रहरुमा गएर खोप लगाउन सकिनेछ ।
सिरहाका जिल्लाका करिब २ लाख १० हजार ३७६ बालबालिकालाई खोप लगाउने अनुमान छ । एउटा खोप केन्द्रमा २ स्वास्थ्यकर्मी र ३ भोलेन्टियर परिचालित हुनेछन् ।
स्वास्थ्य कार्यालयका प्रमुख यादवले भनेका छन्, ‘खोप लिएपछि कसै कसैलाई सामान्य समस्या देखिन सक्छ । त्यो समस्या आत्तिने होइन् ।’ समस्या देखिएका व्यक्तिलाई तत्कालै उपचारका लागि सम्बन्धित ठाउमा लगिन हरेक खोप केन्द्रमा एम्बुलेन्स स्ट्याण्डबाइ राखिने उनको भनाई छ ।
दादुरा रुबेला खोप लगाएर दादुरा रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिबृद्धि गरी रोक संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनिकरण गर्ने र पांच वर्ष मुनीका बालबालिकाहरुको नियमित खोपको अवस्था पहिचान गरी छुटेको नियमित खोपको मात्रा लगाउन सहजिकरण गर्ने खोप अभियानको लक्ष्य रहेको छ ।