काठमाडौँ । सेवाग्राहीबाट एक लाख रुपैयाँ घूस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई विशेष अदालतले पाँच महिनाको कैद सजाय सुनाएको छ।
अदालतले प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार रहेका सिंहलाई दोषी ठहर गरी कैदसहित १ लाख जरिवाना हुने फैसला गरेको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए ।
कुखुरे खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट घूस लिएपछि उनी गत साउनमा अख्तियारको फन्दामा परेका थिए ।
यसैगरी लागुऔषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घूस लिने प्रहरी नायब निरीक्षक पवन साउदलाई ३ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना भएको छ। इलाका प्रहरी कार्यालय मैनाखोर बर्दियामा कार्यरत उनलाई घूस लिइसकेको अवस्थामा अख्तियारले मंसिर १२ गते नियन्त्रणमा लिएको थियो ।
कैलालीको घोडाघोडीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाह नक्कली प्रमाणपत्रको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई दोषी ठहर गरी ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको अदालतका उपरजिष्ट्रार कार्कीले जानकारी दिए ।
भारतबाट प्राप्त गरेको इन्टरमिडियटको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहविरुद्ध गत असोजमा मुद्दा हालेको थियो । तीनवटै फैसला आज विशेष अदालतका न्यायाधीशत्रय डाक्टर खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रीतेन्द्र थापाको संयुक्त इजलासले गरेको हो ।