५० लाख खर्चेर काठमाडौँमा ‘भित्ते चित्र’ बनाउँदै


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने भएको छ ।

यसका लागि कामपाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको छ । पहिलो चरणमा माइतीघरबाट बबरमहलको दायाँतर्फको पर्खाल, प्रदर्शनीमार्गका पर्खाल, अन्तरराष्ट्रिय विमानस्थल बाहिरको पर्खालका साथै मीनभवन र लैनचौरस्थित समाजकल्याण परिषद्को पर्खालमा भित्ते चित्र बनाउनका लागि स्वीकृति दिइसकिएको कामपा सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले जानकारी दिनुभयो ।

स्वीकृत भएका नमूनाबमोजिम ती स्थानमा प्रतिष्ठानले भित्ते चित्र बनाउने भएको छ । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिने प्रमुख शाक्यले बताए । भित्ते चित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेस गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ ।

चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरूसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी दिने, जवाफदेहिता बहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ । यसका लागि कामपाले रु ५० लाख उपलब्ध गराउनेछ ।

सम्झौता भएपछि ६० प्रतिशत (रु ३० लाख) र कार्यसम्पन्न भइसकेपछि ४० प्रतिशत (रु २० लाख) प्रदान गरिने बताइएको छ ।

प्रकाशित : २०८० फाल्गुन १७, बिहीबार १६:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ