सिक्किम आइपुग्यो मनसुन, कहिले आइपुग्छ नेपाल ?


काठमाडौं । बर्खायाम सुरु गराउने मौसम प्रणाली ‘मनसुन’ सिक्किम आइपुगेको र ‘केही दिन’भित्र पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यस वर्षको मनसुन भारतको उत्तर–पूर्व, बंगलादेश, भुटान हुँदै आज सिक्किमसम्म आइपुगेको हो । महाशाखाले शनिबार (जुन १ तारिख) सूचना जारी गर्दै भनेको छ, ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिनको लागि अझै केही दिन लाग्ने देखिएको छ ।’

हेर्नुहोस् सूचना :


महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन नेपाल प्रवेश गर्ने सरदर मिति यही जुन १३ तारिख हो । तर यसभन्दा केही दिन अघिपछि पनि हुने मौसमविद् बताउँछन् ।

‘हामीले बुलेटिनमा मनसुन नेपाल आइपुग्न केही दिन लाग्ने किन भनेका हौँ भने अहिले नै यति दिनभित्र मनसुन प्रवेश गर्छ भनेर अनुमान लगाउने अवस्था भइसकेको छैन’, मौसमविद् अर्यालले भने, ‘मनसुन नेपाल भित्रिने सरदर मिति आउन अझै १२र१३ दिन बाँकी छ, हामी निरन्तर अनुगमन गरिरहेका छौँ, त्यस आधारमा पुनः जानकारी गराउनेछौँ, तर अहिले नै यति दिनभित्र मनसुन नेपाल आइसक्छ भनेर तोक्न सक्दैनौँ ।’

यस क्रममा मौसमविद् अर्यालले अचेल गुगल गरेर जो पनि मौसमविद् बनेर घोषणा गर्ने क्रम बढेको टिप्पणी पनि गरे । ‘हामी यत्रो टिम लागेर अनुगमन गरिरहेका छौँ’, उनले भने, ‘यहाँ गुगल हेर्दै घोषणा गरिदिन्छन् ।’

प्रकाशित : २०८१ जेष्ठ १९, शनिबार १६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ