काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा नेपाललाई पदक जिताउने खेलाडीहरूलाई लामो समयपछि सरकारले घोषित पुरस्कार राशि उपलब्ध गराएको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रम गरी युवा तथा खेलकुदमन्त्रीसहित खेल पदाधिकारीहरूको उपस्थितिमा विभिन्न विधाका खेलाडीहरूको खातामा सिधै रकम जम्मा गरिएको जानकारी गराइएको हो । सो अवसरमा खेलाडीहरूलाई सम्मानपत्रसमेत वितरण गरियो ।
सबै विधामा गरी सरकारले कुल २ करोड ९५ लाख रुपैयाँ १० हजार रुपैयाँ पुरस्कार सम्बन्धित खेलाडीहरूको खातामा जम्मा गरेको हो ।
क्रिकेटरलाई जनही १३ लाख
सरकारले वेस्ट इन्डिजमा रहेको राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूलाई जनही १३ लाख रुपैयाँ उपलब्ध गराएको छ । एसिया कपदेखि नेपाललाई विश्वकपसम्म पुर्याउने खेलाडी, प्रशिक्षकसहित टिमका लागि कुल २ करोड ४ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
कबडी टिमलाई ५२ लाख
यसैगरी १९औँ एसियाडमा नेपाललाई कास्य पदक जिताएको नेपाली कबड्डी टिम सदस्यहरूलाई जनही ३ लाख ९० हजार रुपैयाँ दिइएको छ । खेलाडीसहित प्रशिक्षक, टिम व्यवस्थापकलगायतलाई गरी कुल ५२ लाख रुपैयाँ दिइएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एसियाडमा महिला कबड्डी टिमलाई पठाउने तयारी गर्दा धेरैले खर्च मात्रै हुन्छ भनी टिप्पणी गरेको बताए । धेरैले नपत्याएको त्यही टिमले ऐतिहासिक सफलता हात पारेको उनको भनाइ थियो ।
एरिकालाई साढे १९ लाख
१९औँ एसियन खेलकुद प्रतियोगितामा रजत जितेकी कराँतेकी एरिका गुरुङले १९ लाख ५० हजार रुपैपाँ पाइन् । उनी र उनको टिमका अरूले गरी युवा तथा खेलकुद मन्त्रालयले कुल २५ लाख ३५ हजार रुपैयाँ सम्बन्धित टिम सदस्यको खातामा जम्मा गरेको जनाएको छ ।
सम्मानपत्र लिँदै एरिकाले खेलकुदमा भविष्य छ र भनेर प्रश्न गर्नेका लागि आफूले जवाफ पाएको बताइन् ।
पलेशालाई १३ लाख
यसैगरी, एसियाडअन्तर्गत पराजा खेलकुदमा दिलाएको पहिलो कास्यका लागि पलेशा गोबर्धनलाई १३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ । पलेशासहित त्यो बेलाको पारा टिमलाई कुल १६ लाख रपेयाँ ९० हजार उपलब्ध गराइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
पुरस्कारका लागि धन्यवाद दिँदै पलेशाले पेरिस ओलम्पिकमा राम्रो गर्ने वाचा गरिन् ।
फेरि विश्वकप खेल्न १० वर्ष कुर्न नपरोस्ः पारस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्य विश्वकप खेल्न वेस्ट इन्डिजमा भएकाले पुरस्कार समारोहमा नेपाल क्रिकेट संघ ९क्यान०का सचिव पारस खड्का उपस्थित थिए । घोषित पुरस्कार उपलब्ध भएसँगै खेलाडीको मनोबल बढ्ने विश्वास व्यक्त गरे । उनले खेलाडीलाई प्रोत्साहन गरेकोमा सरकारलाई धन्यवाद पनि दिए ।
यद्यपि, राज्यले के दियो नभनेर राज्यलाई के दिएँ भन्ने मानसिकताले खेल्नुपर्नेमा उनको जोड थियो । सचिव खड्काले विश्वकप खेल्न नेपालले वर्षौं कुर्नुपर्ने दिन गएको पनि बताए । सबै विधामा गरेर सरकारले २ करोड ९५ लाख १० हजार रुपैयाँ पुरस्कार सम्बन्धित खेलाडीको बैंक खातामा जम्मा गरेको जनाएको छ ।
पुरस्कार वितरणपछि युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले रोकिएको पुरस्कार प्रदान गर्न पाउँदा आफू पनि खुसी भएको बताए । यसका लागि आफू अर्थमन्त्रीको पछि लागेर बारम्बार आग्रह गरेको उनले सुनाए । साथमा खेल क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुरा आफूले पहिल्याएको पनि बताए ।