काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले विभिन्न रोगहरूको निःशुल्क तथा सहुलियतपूर्ण उपचारका लागि सम्झौता गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
देशभरका निजी मेडिकल कलेज, निजी तथा सामुदायिक अस्पताल र अन्य सरकारी अस्पतालहरूले स्वास्थ्य मन्त्रालयसँग विभिन्न सेवा निस्शुल्क तथा सहुलियतमा उपलब्ध गराउने सम्झौता गरे पनि सोको पालना नभएको जनगुनासो बढ्दै गएपछि मन्त्री यादवले यो निर्देशन दिएका हुन् ।
निर्देशन अनुसार सबै सरकारी तथा निजी अस्पतालहरूले निःशुल्क स्वास्थ्य सेवाको सूचना नागरिकलाई स्पष्ट र सजिलै बुझिने गरी सार्वजनीकरण गराउनु पर्ने हुन्छ ।
मन्त्री यादवले मङ्गलबार जारी गरेको निर्देशन अनुसार अस्पतालहरूले आफ्नो मुख्य प्रवेशद्वार, टिकट काउन्टर, रेडियो इमेजिङ विभाग, प्रयोगशाला विभाग, ओपिडी कक्ष, र अन्तरङ्ग विभाग अगाडि ठूला अक्षरमा निःशुल्क सेवाहरूको सर्वसाधारणहरूले स्पष्टसँग देखिन गरी सूचना टाँस गर्नु पर्नेछ। यसले नागरिकहरूलाई उपलब्ध निःशुल्क सेवाको जानकारी सजिलै प्राप्त हुने सुनिश्चित गर्ने मन्त्री यादवको विश्वास छ ।
त्यस्तै निर्देशनअनुसार निजी मेडिकल कलेज, निजी तथा सामुदायिक अस्पतालहरूले कुल शय्याको १० प्रतिशत शय्यामा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, निःशुल्क उपचार गरिएका बिरामीहरूको विवरण वेबसाइटमा अद्यावधिक गर्नुपर्ने, र प्रगति विवरण मन्त्रालयमा सात दिन भित्र पेस गर्नुपर्ने हुन्छ ।
निर्देशनको पालना नगर्ने अस्पतालहरूलाई कानुनी कारबाही गरिने र इजाजत अनुमति, नवीकरण, र सम्झौता रद्द गर्न सकिने चेतावनी पनि दिइएको छ ।