सिरहा । औरही गाउँपालिकामा मनपरी तथा कानूनविपरित खर्च गर्ने प्रबृत्ति मौलाएको छ । गाउँपालिका अध्यक्षमा शिवजी यादव निर्वाचित भएर आएपछि सुशासन कायम राख्ने ठूला ठूला गफ दिए । तर उनी स्वयंम सुविधाभोगी बनेका हुन् ।
अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पारित गराउन अध्यक्ष यादवले जनप्रतिनिधिलाई मोवाइल बाँडेको खुलेको छ । स्रोतका अनुसार उनको निर्देशनमा पालिकाले २७ थान महँगो मोवाइल खरिद गरेका छन् । जसमध्ये नीति तथा कार्यक्रम र बजेट पास गर्न हस्ताक्षर गरेका केहि जनप्रतिनिधिलाई मोवाइल बाँडिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा मोबाइल लगायतका व्यक्तिगत प्रयोजनका सामग्री वितरण तथा खरिद गर्ने व्यवस्था गरेको छैन । तर कानूनी व्यवस्थालाई धज्जी उडाउँदै गापा अध्यक्ष यावदले आफूसहितका जनप्रतिनिधिलाई मोवाइल वितरण गरेको खुलेको छ ।
गत आर्थिक वर्षमा पनि अध्यक्ष यादव र केहि कर्मचारीका लागि ५ लाख ५२ हजार ८९५ रुपैयाँ बराबरको ६ थान मोवाइल गाउँपालिको बजेटबाट खरिद गरिएको थियो ।
०७९ माघ २२ मा देवांश इन्टरप्राइजेजबाट १ लाख १४ हजार ५ सय पर्ने तीन थान र ३४ हजार पर्ने एक थान वनप्लस मोवाइल खरिद गरियो । त्यसको ५ महिनापछि ०८० असार २३ मा इन्टरफेस आरती सोल्युसनबाट ९७ हजार १८० रुपैयाँ पर्ने सामसुङ एस २० प्लस र २८ हजार १४० पर्ने सामसुङ एम ७२ मोवाइल खरिद गरेको देखिन्छ ।
मोवाइल विलासिता अन्तर्गत पर्छ । यसरी विलासिताको समान खरिद गरी पालिकालाई थप व्ययभार परेको महालेखा परीक्षकको प्रतिवेदनले भनेको छ । विगतमा मोवाइल खरिद गर्दा महालेखा परीक्षकको प्रतिवेदनले सैद्धान्तिक बेरुजु कायम गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले मोवाइल जस्ता विलासिताको समान खरिद गरी पालिकालाई व्ययभार नथप्न दिएको सुझावलाई लत्याउँदै गापा अध्यक्ष यादवले पुनः मोवाइल किनेर जनप्रतिनिधिलाई बाँड्न थालेपछि उनको सुशासनको नारामाथि प्रश्न उठेको छ ।
यो पनि हेर्नुहोस् :