बारा । सिम्रौनगढ नगरपालिकाआसपासका खुला सीमानाका गाँजा तस्करीका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बनेका छन् । प्रहरीले पटक–पटक यस नगर क्षेत्रको सीमानाका आसपासबाट ठूलो परिमाणमा गाँजा बरामदग र्दै आएकोले यो क्षेत्र गाँजा तस्करीका लागि ‘ट्रान्जिट प्वाइन्ट’ जस्तै बनेको हो ।
बाराको ६२ किलोमिटर खुला सीमानाकामध्ये सबभन्दा बढी गाँजा सिम्रौनगढ आसपासबाट बरामद हुने गरेको छ । कलैयाबाट २२ किलोमिटर पूर्वमा रौतहटको पसमानासित जोडिएको सिम्रौनगढ दशगजासित जोडिएको क्षेत्र हो ।
शुक्रबार राति मात्र प्रहरीले २०१ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको छ । वाग्मती प्रदेश ०१–०२९ च ६७५२ नम्बरको गाडीसहित चालक धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका ८ का २२ वर्षीय सुजन अधिकारी र सहचालक ज्वालामुखी गाउँपालिका–१ का २३ वर्षीय रमेश नेपाली पक्राउ परेको सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन राईले बताए ।
सिम्रौनगढ नगरपालिका–५ ठूलो इटवाल गाउँका मनोजकुमार साहको घरमा सामान छोडेर फर्किंदै गरेको अवस्थामा सूचना पाएलगतै छापा मार्दा गाँजा बरामद भएको उनले बताए । मनोज नक्कली नोट र लागूऔषध गाँजासम्बन्धी मुद्दामा लामो समयदेखि फरार छन् ।