काठमाडौं । स्वास्थ्य मन्त्री प्रदीप यादवले ग्लोबल फन्डबाट आउने करिब ६ अर्बमा तीन अर्ब बिचौलिया तलब र भत्तामा खर्च गर्ने बताएका छन्। सरकारले सिधै गर्न खोज्दा नदिइएको समेत उल्लेख गरेका छन् ।
नेपाली जनताका नाममा आउने ठूलो बजेट दुरुपयोग हुने गरेको भन्दै मन्त्रालयमा ब्यापक छलफल थालिएको बताए । त्यसबाहेक अन्य सहयोग पनि विचौलियामार्फत आउने भए रोकिदिने चेतावनी दिएका छन् । ‘हामी सक्षम छौं भन्दा अनेक बहाना बनाइन्छ,’ उनले भने ।
यताबाट इमेल पठाउँदा पन्छाउने गरी अनेक जवाफ आएको भन्दै उनले बिचौलियालाई दिन निहुँ खोजिएको बताए । ‘उनीहरुलाई किन हो बिचौलिया नै चाहिन्छ। हामीले गम्भीर रुपमा कुरा गरिरहेका छौं । अर्थले पनि त्यत्तिकै सम्झौता गरिदिन्छ। अर्थ मन्त्रालयलाई स्वास्थ्यलाई नसोधेर सम्झौता नगर्न मन्त्रालयको टिम बसेर निर्णय पठाउँछु । सल्लाह नलिई सुझाव नलिइ सम्झौता भयो भने कार्यान्वयन हुँदैन। बिचौलिया रहने बजेट चाहिन्नँ,’ उनले भने ।
मन्त्री यादवले अन्य दातृ संस्थाका विषयमा पनि कुरा गर्ने भनेका छन् । ‘दातृ निकायले नेपाल र नेपाली जनताका लागि सहयोग दिन्छन् । कुनै व्यक्तिलाई मोटाउन संस्थार मोटाउन होइन,’ उनले भने ।