काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।
बुधबार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको नेता सर्वेन्द्रनाथ शुक्लाले बताए ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबाट ब्रिफिङ गरेको बताए ।
गठबन्धनमा समर्थन गर्ने निर्णय गरेपछि सरकारमा जाने नजाने अहिले कुनै निर्णय नगरेको उनको भनाइ छ ।
उनले भने, ‘हामीसँग सरकारमा जाने नजाने भन्ने विषयमा औपचारिक छलफल कांग्रेस एमालेले गरेको छैन । तर, संविधान संशोधनसहितको मुद्दा अघि सारेकाले हामीले समर्थन गर्ने निर्णय गरेका हौँ ।’
नयाँ सरकार गठनको प्रक्रिया अघि बढेपछि ठूला दलहरूसँग छलफल गर्ने उनले बताए ।