जनकपुरधाम । सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मोटा धानको प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको प्रतिक्विन्टल ३५८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार सरकारले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै सरकारले २४ असारदेखि ३ साउनसम्म अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयोजनमा दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँललाई स्वीकृति प्रदान गरेको छ ।
त्यस्तै भारतको नयाँदिल्लीमा हुने १६औँ एएसओएसएआई एसेम्ब्ली र नवौँ एएसओएसएआई स्याम्पोइजम विषयक कार्यक्रममा महालेखापरीक्षक तोयम राया र उपमहालेखापरीक्षक विन्दु बिष्टलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरेको छ ।