काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा। मुकुल ढकालले सभापति रवि लामिछानेलाई कुर्सीको न्यानोमा धेरै नबस्न सुझाव दिएका छन् ।
‘कि त भ्रष्ट्राचारीको फाइल खोल, कि त राजीनामा देऊ । कुर्सीको न्यानोमा धेरै दिन नबस, बस्ने भए भ्रष्ट्राचारविरुद्धको कदम चालेर, जनतालाई न्याय देऊ,’ ढकालले भनेका छन् ।
नेकपा एमाले, जनता समाजवादी पार्टीलगायतका दलले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् । तैपनि उनले असार २८ गते शनिवार विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री अल्पमतमा परेको भएपनि रास्वपाले भने समर्थन फिर्ता लिएको छैन । रास्वपा मन्त्रीहरू राजीनामा दिने भन्दै बिहीबार बालुवाटार पुगेका थिए तर, प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत लिने र त्यसबेला सहयोग गर्न भनि फर्काए ।
त्यसपछि ढकालले यस्तो सुझाव दिएका हुन् । ढकाले अहिले निलम्बनमा छन् । एक महिना लगाएर तयार पारेको समीक्षा प्रतिवेदनका कारण उनी निलम्बनमा परेका हुन् ।