काठमाडौं । चालु आर्थिक वर्षको भुक्तानी दिने अन्तिम दिन सरकारले साढे ३३ अर्ब रुपैयाँ माथिको भुक्तानी दिएको छ ।
असार २४ गते राति १२ बजेसम्म सरकारी कार्यालय, विभाग तथा मन्त्रालयहरूले काटेको चेक तथा भुक्तानीमा एकमुस्ट ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ खर्च भएको हो ।
कुल भुक्तानी मध्ये १४ अर्ब ४० करोड १३ लाख रुपैयाँ विकास खर्च अर्थात् पुँजीगत खर्चतर्फ भएको छ भने बाँकी नियमित खर्चतर्फको भुक्तानी भएको छ । चालु आवमा विनियोजित बजेटको ७७.४४ प्रतिशत मात्र खर्च हुन सकेको देखिएको छ ।
कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले चालुतर्फ ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ (विनियोजित बजेटको ८१.७९ प्रतिशत) खर्च गरेको छ ।
भने, पुँजीगत अर्थात् विकास खर्चतर्फ जम्मा १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ (विनियोजित बजेटको ५६.९७ प्रतिशत) खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आर्थिक वर्षको असार २४ गतेसम्म सरकारले राजस्व तथा गैर राजस्व गरी १० खर्ब १५ अर्ब ८२ करोड २ लाख रुपैयाँ स्रोत सुनिश्चितता गरेको छ । यो लक्षित राजस्वको ६८.९९ प्रतिशतको मात्र प्राप्ति हो ।
बजेटमार्फत १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँको राजस्व सङ्कलनको लक्ष्य राखेको सरकारले समीक्षा अवधिमा राजस्वतर्फबाट ९ खर्ब ८९ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ सङ्कलन गर्न सकेको छ भने गैर राजस्वबाट १ खर्ब १ अर्ब ४३ करोड २६ लाख रुपैयाँ सङ्कलन गरेको छ ।
यता अनुदानतर्फ भने सरकारले आर्थिक वर्षका लागि राखेको ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँमा जम्मा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ (लक्ष्यको ५.५२ प्रतिशत मात्र) लिन सकेको छ ।