औरही गापा : कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै


सिरहा । ‘असार २४ मा मसँग समन्वय नगरी अध्यक्षले दबाब र प्रभावमा लेखापालसँग चेक काट्न लगाए । मलाई त चेक बनाउने कोठामा छिर्न पनि दिएनन् । पालिका अध्यक्ष, लेखापाल र कर्मचारीले मेरो फोन पनि उठाएनन् । प्रक्रिया नमिलेको कामको पनि चेक काटिएको छ ।’

यी भनाई हुन् सिरहाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झाको । उनी असार २८, शुक्रवार कार्यालय आएका थिए । तर एकैछिनमा ‘खाना खाएर आउँछु’ भनेर कार्यालयबाट बाहिरिए । त्यसबारे टुडेखोजले समाचार सम्प्रेशन गरेको थियो ।

समाचार सम्प्रेशन भएपछि आफूसँग समन्वय नगरी चेक काटिएको र जर्वजस्ती चेकमा हस्ताक्षर गराउने सुइँको पाएपछि आफू बहाना बनाएर कार्यालयबाट निस्केको प्रतिक्रिया दिएका थिए । उनको भनाई थियो, ‘कति चेक काटियो ? त्यो पनि थाहा छैन । म कसरी त्यो चेकहरुमा हस्ताक्षर गर्छु ?’

लेखापाल देवेन्द्र यादव सिरहा सदरमुकामस्थित सलहेश मन्दिरको उत्तरपटिट् रहेको वकिल राजेदेव यादवको घरमा डेरा गरी बस्छन् । त्यो कोठामै लेखापालले गाउपालिका अध्यक्ष र केहि कर्मचारी राखेर चेक काटेका थिए । असार २४ गाउँपालिकाको कार्यालय सुनसान थियो ।

अधिकृत झाको अडियो टुडेखोजले सार्वजनिक गरेपछि गाउँपालिका अध्यक्ष शिवजी यादव तनावमा परेका थिए । उनी आज विहानै अधिकृत झालाई फकाउन केहि व्यक्तिलाई लिएर जनकपुरधाम पुगेका थिए ।

झा जनकपुरधाममै बस्छन् । स्रोतका अनुसार उनले जनकपुरधामस्थित आफ्नै कोठाबाटै कार्यालय सञ्चालन गर्छन् । स्रोतका अनुसार कमिशन बाँडफाँडमा कुरा मिलेपछि अधिकृत झा आज औरही आएर चेक बाँडिरहेका छन् ।
औरही अस्पतालको मिटिङ हलमा बसेर उनले चेक बाँडिरहेको एक कर्मचारीले सुनाए । चेक बाँडिरहेको कोठा बाहिर सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

स्रोतको दावी छ– लेखापालको मात्र हस्ताक्षरयुक्त चेक नसाटिने, फाइलमा टिप्पणी र आदेश सदर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको भएको र टिप्पणी सदर नगरी चेक काट्दा लेखापाल पनि कारवाहीमा पर्ने भएपछि उनीहरु बाध्य भएर कमिसन बाँडफाँडको सहमतिमा आउनु परेको थियो ।

स्रोतका अनुसार कर्मचारी र जनप्रतिनिधिका आसपासेलेउपभोक्ता मार्फत भएको काममा १० प्रतिशत र काटेशनमार्फत भएको काममा २० प्रतिशत कमिशन उठाइरहेका छन् ।

असार २४ मा काटिएको चेक आज असार २९ मा प्रहरी परिचालन गरेर उपभोक्ता र निर्माण कम्पनीलाई बाँडिरहेको विषयमा प्रतिक्रिया लिन अधिकृत, गापा अध्यक्ष र लेखापाललाई सम्पर्क गर्दा हुन सकेन ।

यो पनि पढ्नुहोस् :

औरहीका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झा हाजिर गरेर फरार !

प्रकाशित : २०८१ असार २९, शनिबार १९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ